काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) को दशौं दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १८ रनले पराजित गरेको छ।कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सम्पन्न उक्त खेलमा काठमाडौंले लुम्बिनीलाई हराएर आफ्नो दोस्रो जित निकालेको हो। यो हारसँगै लुम्बिनीको प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ। बुधबारको खेलमा लुम्बिनीले हार व्यहोरेपछि, नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी समूह चरणबाटै बाहिरिएको हो। ६ खेलबाट लुम्बिनीको खाता मात्र २ अंक छ। लिगको अन्तिम खेलमा लुम्बिनीले शुक्रबार कर्णाली याक्ससँग खेल्ने छ।
बुधबारको जितपछि काठमाडौंको प्लेअफमा पुग्ने सम्भावना जीवित रहेको छ। चौथो खेलमा दोस्रो जित निकाल्दै काठमाडौं ४ अंकका साथ पाँचौँ स्थानमा उक्लिएको छ। १०४ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा ८५ रनमा अलआउट भयो। सन्दीप जोराले २६, उन्मुक्त चन्दले १४ र सूर्य तामाङले ११ रन बनाए पनि अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन्। त्यसका साथै, काठमाडौंका बलरहरूले लुम्बिनीलाई सस्तोमा समेट्नका लागि ११ अतिरिक्त रन दिएका थिए।
लुम्बिनीलाई सस्तोमा समेट्ने क्रममा क्याप्टेन करण केसीले ४, दिपेश कँडेलले ३, गेरार्ड इरास्मसले २ र रसिद खानले १ विकेट लिए। यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १०३ रनमा अलआउट भएको थियो। काठमाडौंका लागि भिम सार्कीले सर्वाधिक ३१ रन बनाए। ७ जना ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्दै पवेलियन फर्केका थिए। डान डोउथ्वेटले २१, प्रतिक श्रेष्ठले २० र स्टेफन इस्किन्जाईले १३ रन बनाए।
लुम्बिनीका लागि साद बीन जफरले ३, अभिशेष गौतम र रेमन सिमोन्ड्सले समान २ विकेट लिए। बुधबार नै भएको पहिलो खेलमा सुदूरपश्चिम रोएल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गर्यो। यो जनकपुरको यस लिगमा पहिलो हार हो। हारपछि जनकपुर ८ अंकमा दोस्रो स्थानमा झरेको छ, जबकि सुदूरपश्चिमले जितसँगै समान अंक भए तापनि रनरेटमा जनकपुरलाई पछाडि पार्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।



