साइबर अपराध मुद्दामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि कागजात कीर्ते र मानहानी मुद्दा समेत चल्ने भएको छ । तत्काल साइबर अपराधसम्बन्धी मुद्दामा म्याद थप गरिए पनि अनुसन्धानका क्रममा प्रसाइले गरेका अन्य कसुर समेत आकर्षित हुने प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का प्रमुख एआइजी दीपक थापाले जनाए ।
‘कीर्ते र मानहानीको कुरा पनि आएको छ, त्यसमा पनि मुद्दा चल्छ’, उनले भने एक व्यक्तिलाई एकै पटक एकभन्दा बढी मुद्दा चलाउने कानुनी सुविधा नभएका कारण एउटा मुद्दाको अनुसन्धानपछि अर्को मुद्दा चलाउनु पर्ने भएको थापाले बताएका छन्।‘यी बाहेक उनका विषय अरु पनि केही कुरा आएमा अनुसन्धान हुन्छ’, उनले भने।प्रसाईंविरुद्ध प्रहरी प्रतिवेदनका आधार मुद्दा चलाइन लागेको हो।
उनीविरूद्ध कीर्ते कसुरमा पनि अनुसन्धान हुने गरी अदालतको अनुमति लिने तयारी भइरहेको प्रहरीले जनाएको छ।प्रसाईँले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाइएका सामग्री सामाजिक सञ्जालमा फैलाएको आरोप छ।
प्रधानमन्त्रीका हस्ताक्षर नै कीर्ते गरेको प्रहरीको भनाइ छ।मेडिकल व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए।रास्वपाकी एक केन्द्रीय सदस्यले दिएको जाहेरीअनुसार उनीविरूद्ध साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ।उक्त मुद्दामा उनी एक लाख धरौटी बुझाएर छुटेका थिए।



