सिडनी-सामाजिक सेवामा जीवन समर्पित गर्दै आएका नारायण शास्त्री, (पोमलाल पन्थी) गुल्मी जिल्लामा जन्मिएर हाल दाङ बेलसुंडीमा बसोबास गरिरहेका छन्। धार्मिक शिक्षा र समाजसेवामा विशेष रुचि राख्दै, उनले प्रारम्भिक शिक्षा दाङमा पूरा गरे। महेन्द्र संस्कृत विश्वविद्यालयबाट शास्त्रीको उपाधि प्राप्त गरेपछि, भारतको बनारस, ज्योतिष संस्थान, र शान्तिकुञ्ज हरिद्वारमा अध्ययन गर्दै उनले आयुर्वेद र होम्योप्याथिक चिकित्सा विधामा पनि ज्ञान हासिल गरे।
उनी भन्छन्, “समाजसेवामा मन र आत्मा लगाउनु नै मेरो जीवनको सच्चा ध्येय हो।” यसलाई पुष्टि गर्ने उनको काम मात्र होइन, उनीसँग जोडिएको समाजको प्रेम र विश्वास पनि हो। शास्त्रीले नेपाल तथा विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा सामाजिक, धार्मिक, र सांस्कृतिक सेवा पुर्याउँदै आएका छन्। उनी अखिल विश्व गायत्री परिवारका सक्रिय सदस्य हुनुका साथै, दाङको मुक्ति गुल्दर्श मन्दिरको व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएका छन्।

उनको सेवाको दायरा केवल नेपालमा सीमित छैन। शास्त्रीले चीन, थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया लगायतका विभिन्न देशहरूको भ्रमण गर्दै, अध्यात्मिक सभाहरूमा भाग लिएर समाजलाई शान्ति र आध्यात्मिकताको सन्देश फैलाएका छन्। उनको नेतृत्वमा स्थापित शान्ति युवा क्लबले दाङमा युवाहरूलाई सकारात्मक क्रियाकलापमा संलग्न गराउँदै आएको छ।
अष्ट्रेलियामा बसाइँ पछि पनि, उनले नेपाली समुदायको धार्मिक गतिविधिहरूमा संलग्न रहँदै आएका छन्। उनी अहिले नाथ योगी तथा आदित्य नाथ फाउण्डेसनका अध्यक्षका रूपमा सेवा गरिरहेका छन्। शास्त्री भन्छन “सामाजिक सेवा भनेको केवल आर्थिक सहयोग होइन, मन, मस्तिष्क र आत्माको समर्पण हो,”
नारायण शास्त्रीको यो यात्रा समाजलाई थप उज्यालो बनाउने प्रयास हो, जसले धर्म, संस्कृति, र सेवामा आफ्नो सम्पूर्ण जीवन अर्पण गरेका छन।



