गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सङ्गठनलाई सुदृढ बनाउन हालको कानुनी व्यवस्था प्रतिस्थापन गर्न नयाँ ऐनको मस्यौदा तयार गरी आवश्यक प्रक्रिया अगाडि बढाएको बताएका छन्।
६९औँ प्रहरी दिवसको अवसरमा बुधबार आयोजित समारोहमा गृहमन्त्री रमेश लेखकले उक्त विधेयकले कानुनी मान्यता प्राप्त गरेपछि नेपाल प्रहरीको दीर्घकालीन हित, प्रहरी कर्मचारीको वृत्ति विकास, र संगठनको जिम्मेवारी तथा कर्तव्यका नयाँ आयामहरू पहिचान हुने विश्वास व्यक्त गरे।
नेपाल प्रहरीलाई एउटा जीवन्त संगठनको रूपमा वर्णन गर्दै गृहमन्त्री रमेश लेखकले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, र स्वाधीनतालाई सुरक्षित राख्दै नागरिकहरूको सार्वभौम अधिकारको संरक्षणमा नेपाल प्रहरीले निष्ठापूर्वक योगदान दिएको बताए।
गृहमन्त्री रमेश लेखकले राष्ट्रसेवामा नेपाल प्रहरीको पदचापहरू कहिल्यै बाटो नबिराउने र कतै नसुस्ताउनेमा आफू पूर्ण विश्वस्त रहेको बताए।
नेपाल प्रहरी गृह प्रशासनको पुरानो र अनुभवी संस्था भएको उल्लेख गर्दै उनले यस संगठनको भूमिका र कार्यशैलीले नेपालको आन्तरिक सुरक्षा मजबुत बनाउन महत्वपूर्ण योगदान गरेको बताए।
गृहमन्त्री रमेश लेखकले मुलुकमा आइपरेका जुनसुकै विषम परिस्थिति र विपत्तिमा, जस्तै हालैको बाढीपहिरोबाट प्रभावितको खोज, उद्धार र राहत व्यवस्थापनमा नेपाल प्रहरी सदैव अग्रपंक्तिमा रहेर खटिएको उल्लेख गरे।
उनले मुलुकले विभिन्न चुनौतीहरूको सामना गरिरहेको बताउँदै अन्तर्राष्ट्रिय आतंकवाद, साइबर अपराध, प्राकृतिक प्रकोपको जोखिम, सीमापार तथा बहुक्षेत्रीय अपराधका सञ्जालको नियन्त्रण र अनुसन्धान, मुद्रा शुद्धीकरण, प्रविधिको दुरुपयोग गरी गरिने आर्थिक अपराध जस्ता विविध सुरक्षाका चुनौतीहरूको उचित सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताए।
प्राकृतिक विपद्को व्यवस्थापन र सम्बोधन गर्नुपर्ने टड्कारो आवश्यकता रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले आत्महत्या न्यूनीकरण, सडक दुर्घटना र लागूऔषध दुर्व्यसनमा कमी ल्याउन तत्काल प्रभावकारी नीति र कार्यक्रमको आवश्यकतालाई जोड दिए। यी सबै समस्या समाधान गर्न नेपाल प्रहरीले सञ्चालन गर्ने हरेक रचनात्मक कार्यक्रमलाई गृह मन्त्रालयले सदैव सहयोग, समन्वय, र सहजीकरणमा सकारात्मक दृष्टिकोण राख्ने बताएका छन्।



