सिड्नी – नेपालले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा अमेरिकालाई पराजित गर्दै पहिलो जित हात पारेको छ। ग्राण्ड प्रेरी मैदानमा आज बिहान भएको खेलमा नेपालले १७ रनको जित हात पारेको हो। नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिका ७ विकेट गुमाएर १४७ रनमै सीमित भयो। अमेरिकाका शायन जहानगिरले ६० रनको नटआउट पारी खेल्दा पनि टिमलाई जिताउन असमर्थ रहे।
अमेरिकाको इनिङ्समा शायनले ६० रन बनाउँदा आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रनको योगदान गरे। कप्तान मोनांक पटेल र आरोन जोन्स दुवै ३/३ रनमा आउट भए भने सैतेजा मुक्कामल्ला २ रनमा आउट भए। हरमीत सिंह दीपेन्द्रसिंहको बलमा शून्य रनमै एलबीडब्ल्यू आउट भए। नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिएका थिए भने करण केसी, रिजन ढकाल, र गुल्शन झाले समान १/१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएर १६४ रन बनाएको थियो। नेपालका कप्तान रोहित पौडेलले १ छक्का र ४ चौकासहित ४९ रनको पारी खेले। दीपेन्द्रसिंह ऐरीले १ छक्का र २ चौकासहित २८ रन, ओपनर अनिल शाह र आसिफ शेखले समान २७/२७ रन बनाए। गुल्शन झाले ११, कुशल भुर्तेलले १० र सोमपाल कामीले २ रन जोडे। करन केसी र आरिफ शेख शून्य रनमा आउट भए। अमेरिकाका हरमीत सिंहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए भने सौरभ नेत्रवालकर र जसदीप सिंहले समान २/२ विकेट लिए।



