Thursday, September 17, 2026
Zenith Migration Education
Thursday, September 17, 2026

बीमा सचेतना विस्तार गर्न कोशीका पत्रकारसँग प्राधिकरणको अन्तरक्रिया

Zenith Migration Education

विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले बीमा क्षेत्रका समस्या, चुनौती र समाधानका उपायबारे कोशी प्रदेशमा क्रियाशील पत्रकारसँग अन्तरक्रिया गरेको छ।

बुधबार विराटनगरमा आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सचिन राईले प्राधिकरणको परिचय, कार्यक्षेत्र, जीवन तथा निर्जीवन बीमाका प्रकार, बीमा बजारको अवस्था, बीमा प्रवर्द्धनका लागि भइरहेका प्रयास तथा सञ्चारमाध्यमसँगको अपेक्षाबारे प्रस्तुतीकरण दिएका थिए।

प्राधिकरण कोशी प्रदेश प्रमुख राजेन्द्र महर्जनले बीमासम्बन्धी समाचार सम्प्रेषण गर्दा तथ्यपरक, आधिकारिक, सन्तुलित र जनहितमुखी विषयलाई प्राथमिकता दिन पत्रकारलाई आग्रह गरे। उनले बीमासम्बन्धी सही र विश्वसनीय सूचना सर्वसाधारणसम्म पुर्‍याउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताए।

समाचार तयार गर्दा आधिकारिक स्रोतबाट तथ्य पुष्टि गर्न, तथ्यांकको स्रोत र अवधि स्पष्ट खुलाउन तथा दाबी, आरोप, प्रतिक्रिया र तथ्यलाई छुट्टाछुट्टै प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए।

बीमा कम्पनीहरूको नियामक निकाय प्राधिकरणले बिमितको हितलाई केन्द्रमा राखेर काम गर्दै आएको महर्जनले बताए। आवश्यक कागजात पूरा गरी दाबी भुक्तानीको प्रक्रिया अघि बढाउँदा समस्या नहोस् भन्नेमा प्राधिकरणले सहजीकरण गर्दै आएको उनको भनाइ थियो। बीमासम्बन्धी समस्या देखिएमा समाधानका लागि प्राधिकरणमा सम्पर्क गर्न सकिने उनले बताए।

कार्यक्रममा सहभागी पत्रकारले जीवन तथा निर्जीवन बीमा क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे धारणा राख्दै समाधानका उपाय सुझाएका थिए। बीमासम्बन्धी खोजमूलक पत्रकारितालाई प्रोत्साहन गर्न पत्रकारलाई पुरस्कृत गर्नुपर्ने तथा जनचेतनामूलक सामग्रीको नियमित सम्प्रेषण गर्नुपर्ने सुझाव सहभागीले दिएका थिए।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काले बीमा क्षेत्रबारे नागरिकमा थप सचेतना आवश्यक रहेको बताए। यसका लागि सञ्चार क्षेत्र सहयोग र सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो।

कार्यक्रममा महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जुङलगायतले बीमाको पहुँच विस्तार र प्रभावकारिताका विषयमा धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक प्रथम मिलन पोखरेलले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु