काठमाडौं । रसुवा–भोटेकोशी बाढीपीडित परिवारलाई वचन न्युजको अग्रसरतामा काठमाडौंमा राहत वितरण गरिएको छ। ‘समाचारसँगै सेवा पनि’ अभियानअन्तर्गत तारकेश्वर नगरपालिका–११ स्थित वडा कार्यालयमा मंगलबार उत्तरगया गाउँपालिका–१, २ र ३ तथा किस्पाङ गाउँपालिका–५ का पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको हो।
डसना, तन्ना, सिरानी, प्रेसर कुकर, कराही, थाल, गिलास, डाडु–पन्यु, कचौरा, चपिङ बोर्डलगायत दैनिक आवश्यक सामग्री वितरण गरिएको थियो।
राहत लिन आएकी १८ वर्षीया कुसुम तामाङको पीडा भने सबैका लागि भावुक बन्यो। नुवाकोटको शान्तिबजारकी कुसुम काठमाडौंको तारकेश्वर–८ मा एक्लै कोठा लिएर बसेर कक्षा १२ पढ्दैछिन्। उनका बुबा सन्तबहादुर तामाङलाई भूकम्पले खोस्यो भने आमा प्रजिना तामाङ भोटेकोशी बाढीपछि बेपत्ता छिन्। आमाको शवसमेत फेला परेको छैन।
बुबा गुमे, आमा बेपत्ता भइन्। १८ वर्षकै उमेरमा दुई बहिनीको जिम्मेवारी कुसुमको काँधमा आइपुगेको छ। पढाइसँगै परिवार सम्हाल्नुपर्ने उनको बाध्यता देख्दा राहत वितरणमा पुगेको टोलीसमेत भावुक बनेको थियो। कुसुमलाई अब राहत सामग्रीसँगै पढाइ र दुई बहिनीको भविष्यका लागि निरन्तर सहयोगको खाँचो छ।
राहत वितरण कार्यक्रममा पीडित परिवारका सदस्य विनोद लामाले बाढीपछि धेरै परिवार सुरक्षित बास, खाद्यान्न र आधारभूत राहतको अभावमा कष्टकर जीवन बिताइरहेको बताए। उनले सानो तिब्बत बजार क्षेत्रमा पर्याप्त सरकारी राहत नपुगेको गुनासोसमेत गरे।
तारकेश्वर नगरपालिका–११ का वडाध्यक्ष कबिराज बस्नेतले विपद्का बेला पीडितको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको बताए। “वचन न्युजले समाचारसँगै सेवाको अभियान सञ्चालन गरेर पीडित परिवारसम्म सहयोग पुर्याएको छ। यस्ता मानवीय कार्यमा हाम्रो साथ र सहयोग निरन्तर रहनेछ,” उनले भने।
रसुवाका युवा समाजसेवी सुरेश अधिकारीले बाढीपीडितको दुःखमा साथ दिन सञ्चालन गरिएको राहत अभियान प्रशंसनीय रहेको बताए। तत्काल आवश्यक सामग्रीसँगै पीडित परिवारको दीर्घकालीन पुनःस्थापनामा समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो।
राहत वितरण वचन न्युजका पत्रकार ओमकृष्ण श्रेष्ठ र सीमा ठकुरीको नेतृत्वमा संगीत श्रेष्ठ, उमा धिताल र राजन श्रेष्ठको सक्रियतामा गरिएको हो। वचन न्युजले यसअघि रसुवामै पुगेर दुई चरणमा खाद्यान्न तथा कपडा वितरण गरिसकेको जनाएको छ।
पत्रकार सीमा ठकुरीले विपद्मा परेका नागरिकको साथमा उभिन राहत अभियानलाई निरन्तरता दिइने बताइन्। “हामी तपाईंहरूको साथमै छौँ भन्ने अनुभूति पीडित परिवारलाई दिलाउनु नै हाम्रो प्रयास हो,” उनले भनिन्।
कुसुमजस्ता पीडितका लागि राहत एउटा सुरुवात मात्र हो। उनीहरूको शिक्षा, सुरक्षित जीवन र भविष्यका लागि अब सहयोगी हातहरू आवश्यक छन्।



























