सिड्नी—सामाजिक सञ्जालमार्फत आफूविरुद्ध कपोलकल्पित तथा भ्रामक सूचना प्रवाह गरिएको भन्दै ‘दिदी बहिनी इभेन्ट’की अध्यक्ष बिन्दु पौडेलले प्रेस काउन्सिल नेपाल, सूचना विभाग र साइबर ब्यूरोमा पुगेको बताएकी छन्।
पौडेलले आफूविरुद्ध प्रकाशित वा प्रसारित सामग्री गलत भए प्रमाणसहित सम्बन्धित निकायको सम्पर्कमा आउन चुनौती दिएकी छन्। उनले सामाजिक सञ्जालमा अरूको मानहानी गर्ने तथा कसैलाई गरिखान नदिने प्रवृत्तिविरुद्ध अब कानुनी प्रक्रियामार्फत अघि बढ्ने बताइन्।
उनले भनिन्, “म गलत भए प्रमाणसहित मविरुद्ध लेख्नेलाई प्रेस काउन्सिल र साइबर ब्यूरोको सम्पर्कमा आउन चुनौती दिन्छु। अबबाट सामाजिक सञ्जालमा अरूको मानहानी गर्ने र गरिखान नदिनेविरुद्ध यसैगरी लाग्नेछु।”
आफूमाथि निरन्तर गलत तथा कपोलकल्पित सूचना प्रवाह भएपछि सहन सक्ने अवस्था नरहेकाले नेपाल सरकारका सम्बन्धित निकायसमक्ष पुगेको उनको भनाइ छ।
“आफू गलत गरिँदैन र कपोलकल्पित सूचना दिनेलाई छाडिँदैन। कति सहनु? अति भएर नेपाल सरकार गुहार्न पुगेकी हुँ,” पौडेलले भनिन्।
उनले आफूविरुद्धका गतिविधिमा अष्ट्रेलियाबाट समेत कोही परिचालित भएको प्रमाण भेटिएमा अष्ट्रेलियन सरकारका सम्बन्धित निकायसमक्ष समेत पुग्ने चेतावनी दिएकी छन्।
पौडेलले सामाजिक सञ्जाल प्रयोगकर्तालाई प्रमाणबिना कसैको चरित्रहत्या तथा मानहानी हुने किसिमका सामग्री प्रचार–प्रसार नगर्नसमेत आग्रह गरेकी छन्।




