सिड्नी — नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि Macarthur Region Nepalese Community (MRNC) ले १५ हजार अस्ट्रेलियन डलर सहयोग गरेको छ। बाढी प्रभावितका लागि सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको ‘Teej for Nepal’ fundraising कार्यक्रम शनिबार साँझ लिभरपुलमा सम्पन्न भएको हो।
कार्यक्रमबाट संकलित रकमसहित कुल १५ हजार अस्ट्रेलियन डलर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको MRNC ले जनाएको छ। उक्त रकम बाढी प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि प्रयोग हुने जनाइएको छ।
कार्यक्रममा Hughes का संघीय सांसद तथा प्रमुख अतिथि डेभिड मोनक्रिफ सहभागी भएका थिए। उनले अस्ट्रेलियामा नेपाली समुदायले विभिन्न क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै नेपाली कला, संस्कृति र परम्पराको संरक्षणसँगै सामाजिक सेवामा समेत नेपाली समुदाय सक्रिय रहेको बताएका थिए। बाढी प्रभावितका लागि सहयोग जुटाउने MRNC को पहलको समेत उनले सराहना गरेका थिए।
Campbelltown City Council का मेयर डार्सी लाउन्ड र Liverpool City Council का उपमेयर तथा काउन्सिलर पिटर हार्लेले पनि कार्यक्रममा सम्बोधन गरेका थिए।
कार्यक्रममा Liverpool का सांसद चरिश्मा कलियान्दाको कार्यालयको प्रतिनिधित्व गर्दै मोहन देव भट्ट सहभागी थिए। Campbelltown City Council का काउन्सिलर महसुद चौधरी र अस रहमानको पनि उपस्थिति थियो। त्यस्तै GSNMC का प्रतिनिधि तथा पूर्व Camden Council प्रतिनिधि उषा डोम्माराजु लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य MRNC का अध्यक्ष सोनी तुलाधरले दिएका थिए। कार्यक्रम सञ्चालन संस्थाका सचिव सीमा काफ्ले र प्रवक्ता सदिक्षा कार्कीले गरेका थिए।
कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका कलाकार एलेना चौहान, अर्जुन सापकोटा र रुबिना अधिकारीले सांगीतिक प्रस्तुति दिएका थिए।
‘बाढीपीडितको दुःखमा हामी पनि सँगै छौं’
कार्यक्रमपछि समाजसेवी सिर्जना उप्रेती संग्रौलाले वचन न्युजसँग कुराकानी गर्दै MRNC ले हरेक वर्ष आयोजना गर्दै आएको कार्यक्रमबाट संकलित रकम नेपालमा मानवीय सेवाका क्षेत्रमा सहयोग गर्दै आएको बताइन्।
यस वर्ष भने नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोटलगायतका क्षेत्रका नागरिकलाई सहयोग गर्ने उद्देश्यले ‘Teej for Nepal’ कार्यक्रम आयोजना गरिएको उनले बताइन्।
नेपालमा बाढीका कारण प्रभावित नागरिकको पीडामा प्रवासमा रहेका नेपाली समुदाय पनि सँगै रहेको सन्देश दिन अभियान अघि बढाइएको उल्लेख गर्दै उनले भनिन्, ‘बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीको दुःखमा हामी पनि सँगै छौं। प्रवासमा रहे पनि विपद्को यो घडीमा नेपाल र नेपाली समुदायसँग जोडिएर मानवीय सहयोग गर्न चाहन्छौं।’
MRNC ले अभियान सफल बनाउन सहयोग गर्ने अतिथि, प्रायोजक, दाता, कलाकार, स्वयंसेवक, समुदायका सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।
संस्थाले ‘Teej for Nepal’ अभियानबाट संकलित रकमसहित प्रदान गरिएको १५ हजार अस्ट्रेलियन डलरले बाढी प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
नेपालमा विपद्का बेला प्रवासबाट सहयोग जुटाउँदै आएको MRNC ले आगामी दिनमा पनि आवश्यकताअनुसार मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।












