काठमाडौं — आफ्नै छोरीको बलात्कारपछि विभत्स हत्या हुँदा पनि सरकारसँगको वार्तापछि ‘खुसी छौँ’ भन्नुभएका गरिमाका बुवाको भनाइलाई रवि किरण हमालले ठूलो भरोसाका रूपमा व्याख्या गरेका छन्।
हमालले गरिमाका परिवारले न्यायका लागि गरेको संघर्षपछि सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै उक्त भरोसा नटुटाउन सरकारलाई खबरदारी गरेका छन्। सम्झौता केवल हस्ताक्षरमा सीमित भएर रद्दीको टोकरीमा फालिन नहुने उनको भनाइ छ।
‘फेरि तिनै मातापिताहरूले त्यो खुम्चिएको कागजको टुक्रा लिएर सडकमा आउनु नपरोस्,’ हमालले भनेका छन्, ‘गरिमा जस्ता नानीहरूले फेरि क्रूर, अमानवीय र विभत्स स्थितिको सामना गर्न नपरोस्।’
न्यायका लागि हुने आन्दोलनलाई सम्झौता गरेर तत्काल सामसुम पार्ने प्रवृत्तिप्रति पनि उनले सरकारलाई चेतावनी दिएका छन्।
‘सरकारले न्यायका लागि हुने हरेक आन्दोलन र संघर्षलाई एक थान हस्ताक्षर गरेर तत्काल सामसुम पारियो, समस्या हल भयो भन्ने कलुषित मनसाय राखेको छ भने एकैपटक विस्फोट भएको दिन अकल्पनीय परिस्थिति सिर्जना हुनेछ,’ हमालले चेतावनी दिएका छन्।
हमालले गरिमाको न्यायलाई एउटा परिवारको मात्र विषयका रूपमा लिन नहुने बताएका छन्। उनका अनुसार यो राज्यको संवेदनशीलता, जवाफदेहिता र आगामी पुस्ताको सुरक्षासँग जोडिएको विषय हो।
सरकार र गरिमाका परिवारबीच भएको सम्झौता प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै हमालले न्यायको मागलाई दबाउने वा सम्झौता गरेर मात्र विषय टुंग्याउने प्रयास महँगो पर्न सक्ने चेतावनी दिएका छन्।



