काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले युवालाई मतदान गर्ने जमातका रूपमा मात्र नभई राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्ने बताएका छन् ।
बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले युवाको अधिकार, सहभागिता, सशक्तीकरण र भविष्यका विषयमा गम्भीर बहस आवश्यक रहेको बताए ।
उनले भने, ‘युवालाई मतदान गर्ने जमात मात्रै होइन, राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्छ । विदेशबाट फर्किएका युवाको ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशमा परिचालन गर्न ‘रिटर्नी युवा उद्यमशीलता’ को ठोस नीति आवश्यक छ । तीनै तहका सरकारले युवाको सहभागिता, नेतृत्व र सिर्जनशीलतालाई विकासको केन्द्रमा राख्नुपर्छ ।’
आङदेम्बेले विदेशबाट फर्किएका युवाको ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशमै परिचालन गर्न ‘रिटर्नी युवा उद्यमशीलता’ सम्बन्धी ठोस नीति आवश्यक रहेको बताए । तीनै तहका सरकारले युवाको सहभागिता, नेतृत्व र सिर्जनशीलतालाई विकासको केन्द्रमा राख्नुपर्नेमा उनले जोड दिए ।
अन्तर्राष्ट्रिय युवा दिवसलाई युवाले नेपालमै आफ्नो भविष्य देख्न सक्ने नेपाल निर्माणको प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा विकास गर्नुपर्ने उल्लेख गरे ।
उनले राष्ट्रिय जनगणना २०७८ अनुसार १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या ४२.५६ प्रतिशत रहेको उल्लेख गर्दै नेपालको ठूलो युवा जनसंख्यालाई जनसांख्यिक लाभांशका रूपमा उपयोग गर्नुपर्ने बताए । तर रोजगारी र अवसरको खोजीमा दैनिक करिब २ हजार युवा विदेशिन बाध्य हुनु विडम्बनापूर्ण रहेको बताए ।
उनले जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो भन्दै प्रश्न समेत गरे । ‘जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो उनीहरूले चाहेको सुशासन कहाँ छ ? विदेशिन बाध्य युवालाई स्वदेश फर्काउने योजना कहाँ छ ?’ उनले प्रश्न गरे ।
आङदेम्बेले २०८२ सालको भदौ तेस्रो साताको जेनजी आन्दोलनले रोजगारी, सुशासन, जवाफदेहिता र देश निर्माणको जनादेश मागेको दाबी गर्दै त्यसपछि भएको निर्वाचनमा पनि मतदाताले परिवर्तनको चाहना बताए ।



