क्यानबेरा — अस्ट्रेलियाका नेपाली संघ–संस्थाहरूको छाता संगठन फेडेरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया (फेन्का) को साधारणसभा क्यानबेरामा सम्पन्न भएको छ। साधारणसभाका क्रममा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानिजीले नेपाली समुदायलाई स्वागत गर्दै बहुसांस्कृतिक अस्ट्रेलियामा नेपालीहरूले पुर्याएको योगदानको प्रशंसा गरेका छन्।

पार्लियामेन्ट हाउसमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एल्बानिजीले आफू नेपाल भ्रमणमा गएको प्रसंग स्मरण गर्दै नेपालसँगको आफ्नो सम्बन्धबारे समेत चर्चा गरेका थिए। उनले आफू ‘ब्याकप्याकर’का रूपमा नेपाल पुगेको स्मरण गरे।
एल्बानिजीले न्यूसाउथवेल्समा नेपाली समुदाय निकै सक्रिय रहेको आफूले थाहा पाएको उल्लेख गर्दै अस्ट्रेलियाको सामाजिक तथा सांस्कृतिक विविधतामा नेपाली समुदायको भूमिकाको प्रशंसा गरे।

कार्यक्रममा सभामुख डिक मिल्टन, उपरक्षामन्त्री पिटर खलिललगायत सरकारी अधिकारी तथा नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता थियो।
साधारणसभाले फेन्काको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यकालका नीति तथा कार्यक्रम तय गर्नेछ। वर्तमान अध्यक्ष बम योन्जनले आफ्नो कार्यकाल पूरा भएपछि नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरिने बताए।

योन्जनका अनुसार अस्ट्रेलियामा नेपालीहरूको बसोबासको इतिहास लामो नभए पनि समुदायले छोटो समयमै उल्लेखनीय योगदान पुर्याएको छ। पछिल्ला वर्षहरूमा ठूलो संख्यामा नेपाली विद्यार्थी अध्ययनका लागि अस्ट्रेलिया आउने गरेको उनले बताए।
अस्ट्रेलियाको आप्रवासन नीतिमा पछिल्लो समय कडाइको बहस चलिरहेका बेला नेपाली समुदायको हकहित र अधिकारका विषयमा फेन्काले सरकारसँग निरन्तर पैरवी गर्दै आएको जनाएको छ।

साधारणसभामार्फत नयाँ नेतृत्व चयनसँगै अस्ट्रेलियामा नेपाली समुदायका साझा मुद्दालाई थप प्रभावकारी रूपमा अघि बढाउने योजना फेन्काले अघि सारेको छ।



