Tuesday, August 4, 2026
Zenith Migration Education
Tuesday, August 4, 2026

छोटो समयमै लोकप्रिय बन्दै डुमरवाना साइकल ग्रुप

Zenith Migration Education

बारा — साइकलिङ, स्वास्थ्य सचेतना तथा धार्मिक एवं आन्तरिक पर्यटन प्रवर्द्धनको क्षेत्रमा डुमरवाना साइकल ग्रुप छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।

२०७६ सालमा ८ जना सदस्यबाट सुरु भएको यो समूहमा हाल ७० जनाभन्दा बढी सदस्य आबद्ध भइसकेका छन्। नियमित साइकल यात्रा गर्दै व्यक्तिगत स्वास्थ्य सुधारसँगै धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको यस समूहमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको आकर्षण बढ्दै गएको छ।

समूहमा शिक्षक, व्यवसायी, राजनीतिकर्मी तथा सामाजिक अभियन्ताहरूको सक्रिय सहभागिता रहेको छ। विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिताले समूहलाई थप व्यवस्थित, सक्रिय र लोकप्रिय बनाउँदै लगेको छ।

डुमरवाना साइकल ग्रुपले कास्की, रुपन्देही, मुस्ताङ, उदयपुर, झापा, सिन्धुली, मकवानपुर, चितवन, पर्सा, रौतहट, सर्लाहीलगायत देशका विभिन्न जिल्लामा आयोजना भएका साइकल राइडमा सहभागिता जनाउँदै आएको छ। आगामी भदौमा लमजुङमा आयोजना हुने साइकल राइडमा समेत दुई दर्जनभन्दा बढी सदस्य सहभागी हुने तयारीमा रहेका छन्।

बारा राइडर्स एसोसिएसनसँग आबद्ध रहेको यस समूहले २०२६ जुलाई १८ मा विश्व कोरा डे (World Kora Day) को अवसरमा आयोजित साइकल यात्रामा ६६ जना सहभागी गराएको थियो। जितपुरसिमरा क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थल समेटिएको उक्त ४४ किलोमिटर लामो साइकल यात्राले स्वास्थ्य, पर्यटन प्रवर्द्धन र परोपकारी सन्देश दिएको थियो।

डुमरवाना साइकल ग्रुपका संयोजक राजकुमार अर्याल बारा जिल्लामा सामाजिक सेवामा समर्पित व्यक्तित्वका रूपमा समेत परिचित छन्। विभिन्न सामाजिक अभियानमा सक्रिय रहँदै आएका अर्यालले साइकलिङमार्फत स्वास्थ्य, पर्यटन र सामाजिक एकताको अभियानलाई अघि बढाउँदै आएका छन्।

समूहलाई अझ विस्तार गर्दै लैजाने योजना रहेको संयोजक राजकुमार अर्यालले बताए।

“साइकल यात्रा केवल शारीरिक व्यायाम मात्र होइन, यसले मानिसलाई प्रकृतिसँग जोड्नुका साथै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको पहिचान विस्तार गर्न सहयोग पुर्‍याउँछ। आगामी दिनमा समूहलाई अझ व्यवस्थित र व्यापक बनाउँदै लैजाने योजना छ,” — राजकुमार अर्यालले भने।

सामाजिक भावना, स्वास्थ्य सचेतना र पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राखेर अघि बढिरहेको डुमरवाना साइकल ग्रुप पछिल्लो समय बारा क्षेत्रको सक्रिय साइकलिङ समूहका रूपमा स्थापित हुँदै गएको छ।

— सिमा ठकुरी, बारा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु