काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा आज विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ ।
समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस २०८३’ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । साथै राष्ट्रिय झण्डा फहराइएको र शान्तिको कामना गर्दै परेवा उडाइएका थिए ।
समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरी बलका तर्फबाट ‘मार्चपास’ गरिएको थियो । काठमाडौँ उपत्यकाका विभिन्न स्थानीय तहबाट मुलुकको मौलिक कला संस्कृति झल्कने झाँकी प्रस्तुत भएको थियो ।
उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा,सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो ।
दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा मन्त्रीगण तथा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूको समेत सहभागिता रहेको थियो ।



