आजदेखि काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ। प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश, इरान, कीर्गिस्तान, मालदिभ्स र कजाकिस्तान सहभागी हुँदैछन्।
प्रतियोगिताको पूर्व सन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीकी कप्तान निरुता ठगुन्नाले नेपाली दर्शकलाई निराश हुन नदिने बताइन्। आफ्नो टोलीले उच्चस्तरीय प्रदर्शन गर्ने बताइन्।
‘टोलीमा नयाँ र पुराना खेलाडीको संयोजन रहेकाले यसपाली उपाधि जित्नेमा आशावादी छौँ’, कप्तान ठगुन्नाले भनिन्। उनको नेतृत्वमा नेपालले पहिलो पटक प्रतियोगिता खेल्दै छ। च्याम्पियनसिपका लागि ठगुन्नाको कप्तानीमा नेपालले १४ सदस्यीय टोली घोषणा गरेको छ।
टोलीका अन्य खेलाडीहर”मा सलिना श्रेष्ठ, शान्ति तामाङ, सुमित्रा रेग्मी, सुनिता खत्री, वसन्ती साउद, अलिशा मानन्धर, उषा भण्डारी, सलिना बुढा मगर, कामना विष्ट, रिमा कुँवर, मिना सुनार, प्रगति नाथ र जशना महतो तथा मुख्य प्रशिक्षकमा जगदीशप्रसाद भट्ट रहेका छन्। प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ।
पत्रकार सम्मेलनमा सहभागी अन्य टोलीका कप्तानहरूले आफूहरूले पनि उपाधि जित्नकै लागि सक्दो प्रयास गर्ने बताए। प्रतियोगिताको उद्घाटन खेल दिउँसो नेपाल र भारतबीच हुनेछ।



