Friday, May 15, 2026
Zenith Migration Education
Friday, May 15, 2026

इरानमाथि दबाब जारी रहने ट्रम्पको चेतावनी

Zenith Migration Education

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति ध्वस्त भइसकेको दाबी गर्दै यस युद्धमा अमेरिका जसरीपनि विजयी हुने बताएका छन् । मंगलबार चीन भ्रमणका लागि प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानमाथिको नाकाबन्दी पूर्ण रूपमा प्रभावकारी रहेको दाबी गरे । उनले अमेरिका शान्तिपूर्ण रूपमा वा अन्य माध्यमबाट आफ्नो उद्देश्य पूरा गर्ने तयारीमा रहेको बताएका हुन् ।

ट्रम्पले इरानको नौसेना, वायुसेना तथा युद्ध क्षमतामा ठूलो क्षति पुगेको उल्लेख गर्दै इरानले सही निर्णय लिनुपर्ने, अन्यथा अमेरिकाले आफ्नो अभियान पूरा गर्ने चेतावनी दिए । उनले इरानसँगको तनाव समाधानका लागि चिनियाँ राष्ट्रपति सीचीनफिङको मध्यस्थता आवश्यक नरहेको पनि बताए ।

यसैबीच, ट्रम्पले नेटो प्रति असन्तुष्टि जनाउँदै आवश्यक समयमा नेटोले पर्याप्त सहयोग नगरेको आरोप लगाए । उनले आवश्यक पर्दा नेटो साथमा नदेखिएको टिप्पणी गरे । यद्यपि नेटो महासचिव मार्क रुथे भने गठबन्धनको भविष्यप्रति आफू आशावादी रहेको बताएका छन् । उनले युरोपेली सदस्य राष्ट्रहरू र क्यानडाले रक्षा खर्च बढाउँदै गएको उल्लेख गर्दै नेटोको दीर्घकालीन स्थायित्व बलियो रहेको दाबी गरे ।

मध्यपूर्वमा बढ्दो तनावका बीच रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज क्षेत्र अहिले विश्व सुरक्षा चासोको केन्द्र बनेको छ । तेल आपूर्ति र समुद्री व्यापार सुरक्षालाई लिएर अमेरिका, इरान तथा नेटो सदस्य राष्ट्रहरूबीच कूटनीतिक तथा सैन्य गतिविधि तीव्र बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु