रौतहट क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका चर्चित सञ्चारकर्मी ऋषि धमलाले आफू मन्त्री पदको लोभ त्यागेर निर्वाचनमा लागेको बताएका छन्।
बिहीबार चन्द्रनिगाहपुरमा स्थानीय पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा धमलाले आफ्नो राजनीतिक यात्रा सत्ताका लागि नभई देश परिवर्तनका लागि भएको स्पष्ट पारे। उनले भने, ‘वर्तमान प्रधानमन्त्री सुशीला कार्की र ‘जेनजी’ आन्दोलनका अगुवाहरूले बारम्बार आफूलाई मन्त्री बन्न आग्रह गरेका थिए, तर उनले त्यसलाई अस्वीकार गरेका थिए।’
‘मन्त्री पद मेरो लागि ठुलो कुरा होइन। म सत्ताका लागि होइन, जनताको अवस्था सुधार्न राजनीतिमा आएको हुँ,’ धमलाले भने। उनले आफूलाई शक्ति वा पदको लालसा नभएको र केवल रौतहटको विकास र जनताको हितका लागि राजनीति गर्दै आएको बताए।
उनी रौतहटको गरिबी, अशिक्षा र विकास अभाव हटाउन सक्रिय भूमिका खेल्ने दाबी गर्दै आएका छन्। बिहानदेखि मध्यरातसम्म जनताको घरदैलोमा पुगेर समस्या सुन्ने र समाधानका उपाय खोज्ने उनले बताए।
धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट मोबाइल फोन चुनाव चिह्न लिएर चुनावी प्रतिस्पर्धामा होमिएका छन्। पत्रकारितामा लामो अनुभव बटुलेका धमलाको उम्मेदवारीसँगै रौतहट–४ को चुनावी माहोल रोचक बनेको छ।
उन्हें विजयी भए रौतहटलाई नमुना जिल्ला बनाउने र भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।



