Sunday, April 19, 2026
Zenith Migration Education
Sunday, April 19, 2026

नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै

Zenith Migration Education

क्याप क्यानभेरल (फ्लोरिडा) । चिकित्सकीय हेरचाह आवश्यक परेपछि नासाले इतिहासमै पहिलोपटक मेडिकल निकासी प्रक्रिया अपनाउँदै चार अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट पृथ्वी फर्काउने निर्णय गरेको छ । बुधबार एक जना बिरामी अन्तरिक्ष यात्रीसहित तीन जना चालक दलका सदस्यले आइएसएसबाट प्रस्थान गरेका हुन् ।

अमेरिका, रुस र जापानका चारै जना अन्तरिक्ष यात्री स्पेसएक्सको क्याप्सुलमार्फत बिहीबार बिहान सान डिएगो नजिकै प्रशान्त महासागरमा सुरक्षित स्प्ल्यासडाउन गर्ने लक्ष्यमा छन् । यस निर्णयका कारण उनीहरूको मिसन एक महिनाभन्दा बढी छोटिएको नासाले जनाएको छ ।

नासाकी अन्तरिक्ष यात्री जेना कार्डम्यानले फिर्ती यात्राअघि भने, “हाम्रो प्रस्थान समय अप्रत्याशित भए पनि यो चालक दल परिवारझैँ एक–अर्काको हेरचाह गर्दै एकताबद्ध भएको देख्नु प्रेरणादायी रह्यो ।”

अधिकारीहरूले चिकित्सकीय गोपनीयताको कारण बिरामी अन्तरिक्ष यात्रीको पहिचान र स्वास्थ्य अवस्थाबारे विवरण सार्वजनिक नगरेको बताए । यद्यपि निवर्तमान स्टेशन कमान्डर माइक फिन्केले सामाजिक सञ्जालमार्फत उक्त अन्तरिक्ष यात्री ‘स्थिर, सुरक्षित र राम्रोसँग हेरचाहमा’ रहेको जानकारी दिएका छन् । उनका अनुसार, विस्तृत चिकित्सकीय मूल्याङ्कन पृथ्वीमै गर्न उपयुक्त हुने भएकाले यो निर्णय लिइएको हो ।

गत अगस्टमा प्रक्षेपण गरिएका कार्डम्यान, फिन्के, जापानका किमिया युई र रुसका ओलेग प्लाटोनोभ फेब्रुअरीको अन्त्यसम्म स्टेशनमा बस्ने योजना थियो । तर जनवरी ७ मा नासाले आकस्मिक रूपमा स्पेसवाक रद्द गर्दै चालक दल चाँडै फर्कने घोषणा गरेको थियो । स्वास्थ्य समस्या कुनै आपतकालीन नभएको र स्टेशन सञ्चालनसँग सम्बन्धित पनि नरहेको नासाले स्पष्ट पारेको छ ।

नासाले स्पेसएक्सको नियमित प्रवेश र स्प्ल्यासडाउन प्रक्रिया नै अपनाइने र प्रशान्त महासागरमा रहेको रिकभरी जहाजमा चिकित्सकहरूको टोली तयारी अवस्थामा रहने जनाएको छ । अवतरणपछि चारै जना अन्तरिक्ष यात्रीलाई क्यालिफोर्नियाबाट ह्युस्टनस्थित जोन्सन स्पेस सेन्टर लैजाने समयतालिका भने अझै तय भइसकेको छैन ।

हाल आइएसएसमा एक जना अमेरिकी र दुई जना रूसी अन्तरिक्ष यात्री रहिरहनेछन् । नासा र स्पेसएक्सले फेब्रुअरीको मध्यतिर फ्लोरिडाबाट नयाँ चार सदस्यीय टोली प्रक्षेपण गर्ने तयारी गरिरहेका छन् ।

कम्प्युटर मोडलिङले प्रत्येक तीन वर्षमा मेडिकल निकासी आवश्यक पर्न सक्ने देखाए पनि नासाले ६५ वर्षको मानव अन्तरिक्ष उडान इतिहासमा यस्तो कदम चाल्नु पहिलोपटक हो । विगतमा सन् १९८५ मा सोभियत अन्तरिक्ष यात्री भ्लादिमिर भास्युटिन स्वास्थ्य समस्याका कारण साल्युट–७ स्टेशनबाट चाँडै फर्किएका थिए ।

नासाका नयाँ प्रशासक जारेड आइज्याकम्यानको कार्यकालको पहिलो प्रमुख निर्णय यही मेडिकल निकासी बनेको छ । निर्णय सार्वजनिक गर्दै उनले भने, “हाम्रा अन्तरिक्ष यात्रीहरूको स्वास्थ्य र कल्याण सधैँ हाम्रो सर्वोच्च प्राथमिकता रहनेछ ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु