सिड्नी — ओबर्नस्थित गस्पेल नेपाली चर्चको आयोजनामा शनिबार दोस्रो अन्तर–मण्डली युवा सम्मेलन (2nd Inter-Church Youth Conference) भव्य उत्साहका साथ सम्पन्न भएकाे छ ।

वार्षिक रूपमा आयोजना हुँदै आएको यो सम्मेलन सिड्नीका पाँच मण्डली — ट्रिनिटी, होसन्ना, सिड्नी नेपाली, लर्ड्स अगापे र गस्पेल नेपाली चर्च — का युवा, पाष्टर तथा अगुवाहरूको संयुक्त सहभागितामा सम्पन्न भएको हो।

कार्यक्रमको सञ्चालन गस्पेल नेपाली चर्चकी अगुवा अनु श्रेष्ठले गरेकी थिइन् भने अन्य अगुवा सैलेस महर्जन र जोन गिरीको नेतृत्वमा सामूहिक आराधना गरिएको थियो।
त्यस्तै, रेबिका राईको नेतृत्वमा प्रस्तुत नृत्यले हलमा उल्लासमय वातावरण सिर्जना गरेको थियो। कार्यक्रमको मल्टिमिडिया व्यवस्थापन रबिन्द्र राईले गरेका थिए।

सम्मेलनको विषय ‘Chosen Generation (चुनिएको पुस्ता)’ रहेको थियो।
मुख्य वक्ता पाष्टर पावल न्यौपानेले आत्मिक जीवनमा प्रेरणा र उद्देश्यपूर्ण यात्राबारे सशक्त सन्देश प्रस्तुत गरेका थिए। साथै सिड्नी नेपाली चर्चका डिकन ओशन श्रेष्ठको समूहले सामूहिक भजन र लर्ड्स अगापे चर्चका युवाले ‘भागेर कहाँ जाऊँ म’ बोलको आत्मिक गीत प्रस्तुत गरेका थिए।

कार्यक्रमको अन्त्यमा होसन्ना नेपाली मण्डलीका प्रमुख पाष्टर अनिस रिमालले वक्ता न्यौपानेलाई सम्मानपत्र प्रदान गरेका थिए भने पाष्टर जीवन रायमाझीले सहभागी, सहयोगी र अतिथिप्रति धन्यवाद ज्ञापन गर्दै आशीर्वादको प्रार्थना सहित सम्मेलन समापन गरे ।
साथै अगुवा सुरक्षा रायमाझी नेतृत्वमा प्रेम भोजको विशेष व्यवस्था गरिएको थियो।

कार्यक्रममा अतिथि पाष्टर बिकाश कटुवाल, एल्डर रमेश बर्मा, प्रवीण तामाङ तथा Smart Study का निर्देशक सुसिल श्रेष्ठलगायतको उल्लेखनीय उपस्थिति थियो।

आयोजक पाष्टर जीवन रायमाझीका अनुसार, यो सम्मेलनलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइनेछ।



