Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

पत्रकार महासंघ मकवानपुर र सहकारी अस्पतालबीच स्वास्थ्य उपचार सम्झौता, 

Zenith Migration Education

हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखा र मकवानपुर सहकारी अस्पतालबीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता गरिएको छ। 

शनिबार हेटौँडामा आयोजित विशेष कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौतामा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी र मकवानपुर सहकारी अस्पतालका अध्यक्ष नरोत्तम दाहालसहित दुवै संस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेका थिए। 

कार्यक्रममा बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरसहित महासंघका पदाधिकारी, अस्पताल व्यवस्थापन टिम र स्थानीय पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।

सम्झौता अनुसार महासंघका सदस्य पत्रकारहरूले मकवानपुर सहकारी अस्पतालमा बहिरंग (ओपीडी) सेवा, स्वास्थ्य परीक्षण र औषधि खरिदमा विशेष सुविधा पाउनेछन्। 

अस्पतालले बहिरंग सेवामा निःशुल्क उपचारको व्यवस्था र औषधिमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ। पत्रकारहरूले आफ्नो परिचयपत्र देखाएर यी सुविधा प्राप्त गर्न सक्नेछन्।

महासंघका सचिव केशव समर्पण सुवेदीले लामो समयदेखि पत्रकारहरू स्वास्थ्य समस्यामा परिरहेको भन्दै यो सम्झौताले राहत दिने विश्वास व्यक्त गरे। 

त्यस्तै महासंघका अध्यक्ष बालकृष्ण अधिकारीले स्वास्थ्य सबैभन्दा ठूलो धन भएको उल्लेख गर्दै पत्रकारहरूलाई नियमित स्वास्थ्य परीक्षण र उपचारका लागि यो सम्झौताले प्रोत्साहन दिने बताए।

कार्यक्रममा मकवानपुर सहकारी अध्यक्ष नरोत्तम दाहालले पत्रकारहरू समाजको महत्त्वपूर्ण हिस्सा भएको र उनीहरूको स्वास्थ्यमा योगदान पु¥याउन पाउँदा खुसी लागेको बताए। साथै, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सधैं तयार रहने प्रतिबद्धता पनि जनाए।

चाडपर्वको अवसर पारेर सम्पन्न कार्यक्रममा शुभकामना आदान–प्रदान कार्यक्रमसमेत गरिएको थियो। सहभागीहरूले एक–अर्कालाई शुभकामना साटासाट गर्दै खुसी व्यक्त गरेका थिए।

यो सम्झौताले मकवानपुरका पत्रकारहरूको स्वास्थ्य सुरक्षा र पेसागत जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु