Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

कतार आक्रमणपछि रुबियोको इजरायल भ्रमण, युद्धविराम प्रयासमा नयाँ तनाव

Zenith Migration Education

तेल अभिव । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार इजरायलको भ्रमण सुरु गरेका छन् । कतारमा आक्रमण भएपछि हमाससँगको युद्धमा आफ्नो सहयोगीलाई ट्रम्प प्रशासनको अटल समर्थन व्यक्त गरेपछि इजरायलको व्यापक आलोचना भएको छ ।

यो भ्रमण राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार दोहामा हमास नेताहरूको बैठकमा इजरायलले गरेको अभूतपूर्व आक्रमणप्रति असन्तोष व्यक्त गरेपछि भएको हो ।

यसले अमेरिकी सहयोगी कतारविरुद्ध इजरायलको पहिलो प्रत्यक्ष आक्रमणलाई चिह्नित गरेको छ र गाजामा युद्धविराम ल्याउने कूटनीतिक प्रयासहरूमा नयाँ तनाव थपेको छ ।

शनिबार प्रस्थानअघि रुबियोले पत्रकारहरूसँग भने, “राष्ट्रपति ट्रम्प आक्रमणबारे खुसी हुनुहुन्नथ्यो, तर यसले इजरायलसँगको हाम्रो सम्बन्धमा कुनै परिवर्तन ल्याउँदैन ।”

यद्यपि उनले यस घटनाले युद्धविराम प्रयासमा असर पार्ने भएकाले ‘यसबारे कुरा गर्नुपर्ने’ बताए । दोहामा भएको इजरायली आक्रमणले संयुक्त राज्य अमेरिकाद्वारा अघि सारिएको नयाँ युद्धविराम प्रस्तावबारे छलफल गर्न भेला भएका हमास नेताहरूलाई लक्षित गरेको थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वरिष्ठ हमास अधिकारीहरूको हत्या युद्ध अन्त्य गर्न ‘मुख्य बाधा हटाउने कदम’ भएको भन्दै अपरेसनको बचाउ गरेका छन् ।

युद्धको बीचमा इजरायलले गाजा सहर नियन्त्रणमा लिन दबाब बढाएको छ । बासिन्दाहरूलाई खाली गर्न आदेश दिँदै हमास प्रयोग गरेको भन्दै धेरै अग्ला भवनहरू उडाइएका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार अगस्टको अन्त्यसम्म गाजा सहर र आसपास करिब १० लाख मानिस बसोबास गर्दै आएका थिए। खाद्य अभाव चर्किँदै जाँदा संयुक्त राष्ट्रसङ्घले इजरायली प्रतिबन्धलाई दोष दिँदै अनिकाल घोषणा गरेको छ ।

पश्चिमी गाजाबाट दक्षिणतर्फ भागेका बासिन्दा बकरी दियाबले भने, “यहाँ पनि इजरायली आक्रमण जारी छ । आधारभूत सेवा र सुरक्षाविहीन अवस्थामा मानिसहरूलाई भिड गर्न बाध्य पारिएको छ ।”

गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार बिहानदेखि इजरायली आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको जनाएको छ । तर मिडिया प्रतिबन्ध र पहुँच कठिनाइका कारण एएफपीले दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेन ।

शुक्रबार संयुक्त राष्ट्रसङ्घीय महासभाले इजरायली विरोधका बीच दुई–राज्य समाधानलाई समर्थन गर्दै मतदान गर्‍यो । बेलायत, फ्रान्सलगायत पश्चिमी राष्ट्रहरू यस महिनाको संयुक्त राष्ट्रसङ्घीय बैठकमा प्यालेस्टिनी राज्यलाई मान्यता दिन तयार देखिएका छन् ।

तर इजरायलले अझै आफ्नो सबैभन्दा शक्तिशाली सहयोगी र प्रमुख हतियार आपूर्तिकर्ता अमेरिकाको समर्थन कायम राखेको छ । रुबियोको भ्रमणअघि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगटले प्रमुख कूटनीतिज्ञले ‘हमासको आतङ्कवादलाई पुरस्कृत गर्ने प्यालेस्टिनी राज्यलाई एकपक्षीय मान्यता दिने जस्ता इजरायल विरोधी कदमहरू विरुद्ध लड्ने प्रतिबद्धता देखाउने’ बताए ।

यसबीच, नेतान्याहु सरकारलाई गाजामा रहेका इजरायली बन्धकहरूको रिहाइको साटो युद्ध अन्त्य गर्न दबाब बढेको छ । बन्धक परिवारहरूको प्रमुख अभियान समूह होस्टेज एन्ड मिसिङ फेमिलिज फोरमले शनिबार नेतान्याहुलाई बन्धक मुक्तिको ‘मुख्य बाधा’ भएको आरोप लगाएको छ ।

सन् २०२३ अक्टोबरमा अपहरण गरिएका दुई सय ५१ मध्ये अझै ४७ जना गाजामा रहेका छन्, जसमा २५ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

मिडल इस्ट इन्स्टिच्युटका वरिष्ठ फेलो ब्रायन काटुलिसले रुबियोले इजरायललाई युद्धविरामतर्फ धकेल्ने सम्भावना नगण्य भएको बताए । उनले भने, “गाजामा युद्धविराम ल्याउनमा चिन्ताजनक निष्क्रियता देखिएको छ । प्रशासन आफ्नो आधार इभान्जेलिकल इसाईहरूलाई बढी सुन्दै गएको जस्तो देखिन्छ ।”

जेरुसेलममा रुबियोले आइतबार प्रधानमन्त्री नेतान्याहुसँग भेटेर पश्चिमी पर्खाल भ्रमण गर्ने कार्यक्रम छ ।

सन् २०२३ अक्टोबरमा हमासको इजरायलमाथिको आक्रमणबाट सुरु भएको युद्धमा आधिकारिक तथ्याङ्कअनुसार एक हजार दुई सय १९ जना मारिएका थिए, जसमा अधिकांश नागरिक थिए ।

गाजाको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली कारबाहीमा हालसम्म कम्तीमा ६४ हजार आठ सय तीन जना मारिएका छन्, जसमा ठूलो सङ्ख्यामा नागरिक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु