काठमाडौँ । सामाजिक सञ्जाल प्लाटफर्म ‘एक्स’(पहिलेको ट्विटर)ले नेपालमा दर्ता नगर्ने जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेर एक्सले अपारदर्शिता र भ्रष्टाचार उच्च रहेको मुलुकमा दर्ता नगर्ने जनाएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा एक्सले पठाएको पत्र मुख्य सचिव एकनारायण अर्याललाई पढेरै सुनाएका थिए । पत्र सुनपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध नखोल्ने निर्णय गरेका थिए ।
भ्रष्ट र पारदर्शिता नभएको मुलुकमा दर्ता नगर्ने व्यहोराको एक्सले लेखेको पत्र सुनेपछि प्रधानमन्त्री ओली क्रूद्ध बनेका थिए । ‘भ्रष्टको देशमा दर्ता गर्न आउँदिन भनेर भन्ने ? हामीले तपाईंहरुले दर्ता गरेर चलाउनुहोस्, नाफा कमाउनुहोस् भनेर भन्दा पनि एउटा सार्वभौम मुलुकलाई त्यसरी भन्ने ? अरुलाई सह्य होला तर मलाई हुँदैन’ ओलीको भनाइ उदृत गर्दै एक मन्त्रीले भने ।
मन्त्रिपरिषद् बैठकले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकाउने निर्णय नगरेपछि कांग्रेस सभापति देउवा बालुवाटारमा पुगेका थिए । बालुवाटारमा पुगेर देउवाले सामाजिक सञ्जाल खोल्नुपर्ने दबाब दिएपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले इन्टरनेट प्रदायकहरुलाई खोल्ने व्यहोराको पत्र पठाएका हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, एक्स, युट्युबलगायतका प्लाटफर्महरूलाई दर्ताका लागि आह्वान गर्दा अटेर गरेको भन्दै गत १९ गतेदेखि बन्देज गरेको थियो ।



