जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रूपैठामा झण्डा विवादका कारण सुरु भएको झडप आइतबार पनि उग्र बनेपछि अवस्था तनावग्रस्त भएको छ।
धनुषाका एसपी नरहरि रेग्मीका अनुसार झण्डाको विषयमा दुवै पक्षबीच सहमति भएर मुस्लिम समुदायले राखेको झण्डा हटाइए पनि, हिन्दुपक्षको निकाल्न खोज्दा त्यसपछि हिन्दु पक्षबाट घरेलु हतियारसहित प्रहरीले आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउन बाध्य भएको हो । उनका अनुसार अहिले स्थिति नियन्त्रणमा छ।
घटनास्थलमा करिब ४०० जना प्रहरी खटाइएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले करिब ८० राउण्ड हवाई फायर गरेको छ। सो क्रममा २५ भन्दा बढी प्रहरी घाइते भएका छन् । अहिले जनकपुरधाम क्षेत्रमा उच्च सतर्कता (हाई अलर्ट) कायम गरिएको छ।
स्थानीय झन्डाचोकमा रहेको टावरलाइट पोलमा मुस्लिम समुदायले लगाएको हरियो झण्डा हटाउने क्रममा हिजो नै विवाद चर्किएको थियो । गणेश पूजाको मूर्ति विसर्जनपछि फर्कने क्रममा झण्डा हटाउने प्रयास गर्दा दुई समुदायबीच झडप भएको थियो । त्यतिबेला प्रहरीले ११ राउण्ड अश्रुग्यास प्रहार गरेको र दुई जना घाइते भएका थिए ।
आज बिहान दुवै समुदायका भद्रभलाद्मी र प्रहरी प्रशासनबीच सहमति भई मुस्लिम पक्षले लगाएको झण्डा हटाइए पनि, त्यसपछि हिन्दु पक्षले लगाएको झण्डा हटाउने क्रममा फेरि ढुंगामुढा र आक्रमण भएको हो ।
हाल घटनास्थल र आसपासका क्षेत्रमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ। जनकपुरधाममा सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको छ।



