सिड्नी (अष्ट्रेलिया) । यही जुलाई २६ तारिक अर्थात् शनिबार हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया निर्वाचनमा सन्तोष कुँवरले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएनएको आगामी २०२५–२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका कुँवरको प्यानलमा उपाध्यक्षमा बबिन मिश्र, महासचिवमा चूडामणि सापकोटा, सचिवमा कल्याण खड्का र कोषाध्यक्षमा निजन चौलागाईं रहेका छन् । साथै कुँवरको प्यानलमा राष्ट्रिय महिला संयोजकमा रिज्नु अधिकारीले उम्मेदवारी घोषणा गरेकी छन् ।
कुँवर अहिलेको कार्याकालका महासचिव समेत हुन् ।
अनुभवी र नेतृत्वदायी भूमिकामा अब्बल रहेका व्यक्तिहरूलाई आफ्नो प्यानलमा समेटेर अगाडि बढेका कुँवरलाई हालका एनआरएनए अध्यक्ष अनिल पोखरेलको साथ र समर्थन रहेको छ ।
झन्डै एक दशकदेखि एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कुँवर संस्थालाई लगानीमैत्री, पारदर्शी र सहभागीमुखी बनाउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन् ।
यसैगरी, कुँवरको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका बबिन मिश्र हाल एनआरएनए अष्ट्रेलियाका प्रवक्ता समेत हुन् । उनी करिब एक दशकदेखि अष्ट्रेलिया रहेका नेपाली समुदायमा सक्रिय रुपमा संलग्न रहँदै आएका छन् ।
सन् २०१९ मा एनआरएनए भिक्टोरियाका युवा संयोजकको रूपमा संघको नेतृत्वमा आएका उनले त्यसपछि २०२१ देखि २०२३ सम्म एनआरएनए अष्ट्रेलियाका राष्ट्रिय युवा संयोजकको जिम्मेवारीमा रहेका थिए ।
समावेशी नेतृत्व र व्यावहारिक उपलब्धिका लागि आफ्नो प्यानल नै सक्षम रहेको बताउँदै उनले एनआरएनए क्रियाशीलता, सशक्तीकरण र पुस्तान्तर प्रगतिका लागि सक्रिय मञ्च हुनुपर्ने बताए ।
स्वास्थ्यकर्मी तथा रजिष्टर्ड माइग्रेशन ल एजेन्ट’को रूपमा उनले शिक्षादेखि रोजगारी र माइग्रेशन प्रक्रियासम्म व्यावसाय सञ्चालन गरिरहेका छन् । ‘सोल्भ एजुकेसन एन्ड माइग्रेशन’ र ‘सोल्भ नर्सिङ एजेन्सी’ मार्फत उनले युवाहरूलाई उच्च शिक्षा र अष्ट्रेलियन रोजगार क्षेत्रमा पहुँच दिलाउँदै आएका छन् ।
उनी २०१५ देखि ग्रासरुट संस्थाहरू, वेलफेयर नेपाल र चितवन समाज भिक्टोरियाजस्ता संस्थासँग समेत आवद्ध छन् ।
यसैगरी, एनआरएनए अष्ट्रेलियाको महासचिव पदमा उम्मेदवारी घोषणा गरेका चूडामणि सापकोटा (ज्ञानु)ले आर्थिक सशक्तीकरण, युवाको सहभागिता, बहुसांस्कृतिक पहिचान र नीतिगत पैरवीमार्फत दीर्घकालीन प्रभाव सिर्जना गर्ने प्रतिबद्धताका साथ यो प्यानल अगाडि बढेको बताए ।
समुदाय परिचालन, संस्थागत शासन र समावेशी नेतृत्वको आफ्नो अनुभवलाई महासचिवको भूमिकामा उपयोग गर्ने दृढ विश्वासका साथ अगाडि बढेको उनले बताए ।
उनी एनआरएनए अष्ट्रेलियाभित्र पारदर्शी र जवाफदेही शासन सुनिश्चित गर्ने, राष्ट्रिय र राज्यस्तरीय समितिबीच समन्वय र सञ्चार सुदृढ बनाउने, महिला, युवा र पेशागत समूहको समावेशी सहभागिता प्रवर्धन गर्ने, दस्तावेज व्यवस्थापन, तथ्याङ्कको शुद्धता र सदस्य सेवा सुदृढ गर्ने, नेपाली समुदायको चासो र हकहितलाई आइसीसीमा प्रस्तुत गर्ने लगायतका प्राथमिकताहरूसहित चुनावी मैदानमा उत्रिएका हुन् ।
साथै अध्यक्षका उम्मेदवार कुँवरले अगाडि बढाएका डायस्पोरा लगानी परिचालन, एनआरएनए फाउन्डेसनमार्फत सामाजिक सेवाका अभियान, दोस्रो पुस्ताको सक्रिय सहभागिताका लागि संरचना निर्माण, नीतिगत संवाद र बहुसांस्कृतिक पहिचान प्रवर्धन जस्ता महत्त्वपूर्ण योजनाहरूलाई अगाडि बढाउने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन् ।
त्यस्तै, सचिव पदमा उम्मेदवार कल्याण खड्का विभिन्न किसिमका कानुनी परामर्शदाताका रूपमा सक्रिय छन् । अधिवक्ता समेत रहेका खड्का संघको विभिन्न पदमा रहिसकेका अनुभवी व्यक्ति हुन् ।
सन् २०१३–२०१४ मा ब्रिगेड फुटबल क्लब, सिड्नीको खेलाडी र सल्लाहकार समितिका सदस्यको रूपमा काम गरिसकेका खड्का सिड्नी नेपालीज फुटबल क्लबका संस्थापक समेत हुन् । उनले साहारा अष्ट्रेलिया क्लवमा रहेर फुटबल प्रतियोगिता गराउँदै आएका छन् ।
सन् २०१९–२०२१ मा अष्ट्रेलियन नेपालीज फुटबल एशोसिएसनको कोषाध्यक्ष रहेका उनी अहिले कार्यकारी सदस्य छन् । यसबाहेक उनी एनआरएनए एनएसडब्लु राज्य समन्वय परिषदका महासचिव समेत हुन् ।
यसैगरी, कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेको निजन चौलागाईं नेपाली समुदायमा लोकप्रिय तथा विश्वासिलो व्यक्तित्वका रुपमा चिनिन्छन् ।
समाजसेवा र व्यवसाय दुवै क्षेत्रमा सक्रिया चौलागाईंले आर्थिक पारदर्शिता, संस्थागत सुदृढीकरण र सहकार्यमा आधारित नेतृत्व स्थापना गर्ने लक्ष्य राखेका छन् ।
“समुदायको सेवा गर्दै आएको अनुभव र इमान्दारितामा आधारित दृष्टिकोणका साथ म कोषाध्यक्षको भूमिकामा योगदान गर्न तयार छु ।” उनले भने ।
संघको राष्ट्रिय महिला संयोजक पदमा उम्मेदवारी दिएकी रिज्नु अधिकारीले गैरआवासीय नेपाली समुदायभित्र विशेष गरी महिलाहरूको हक, सम्मान र सशक्तिकरणको पक्षमा निरन्तर आवाज उठाउँदै आएकी छन् ।
अधिकारीले समावेशी नेतृत्वलाई अघि बढाउने प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेकी हुन् । उनले सन् २०२३ देखि अहिलेसम्म दक्षिण अष्ट्रेलिया नारीनिकुञ्जमा महिला संयोजकको रूपमा जिम्मेवारी सम्हाल्दै आएकी छन् । यसअघि २०२१ देखि २०२३ सम्म उनी दक्षिण अष्ट्रेलिया राज्य नारीनिकुञ्जमा महिला सदस्य रहेकी थिइन् ।
एनआरएनए महिलाहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्दै निर्णायक तहसम्मको पहुँच सुनिश्चित गर्ने, समावेशी, जिम्मेवार र प्रभावशाली नेतृत्व निर्माण गर्ने, व्यावसायिक, सामाजिक र सांस्कृतिक रूपले महिलालाई सक्षम बनाउने कार्यक्रम सञ्चालन गर्ने लगायतका एजेण्डासहित उनी चुनावी दौडमा होमिएकी हुन् ।
युवती, छात्रा र नयाँ पुस्ताका महिलालाई नेतृत्व र सशक्तिकरणमा जोड्ने, नयाँ आएका नेपाली महिलाहरूलाई मार्गदर्शन, सहयोग र नेटवर्किङ अवसर प्रदान गर्ने लगायतका एजेण्डा उनको छ । उनी भन्छिन्, ‘‘यो उम्मेदवारी मेरो व्यक्तिगत आकाङ्क्षा होइन, यो हामी सबैको साझा सपना; सशक्त, स्वाभिमानी र समान अवसरप्राप्त महिला नेतृत्वको प्रतिनिधित्व हो ।’’



