Monday, July 13, 2026
Zenith Migration Education
Monday, July 13, 2026

एनआरएनए अष्ट्रेलिया निर्वाचन : क्लिनरबाट यात्रा सुरु गरेका विवेक पुरी जोइन्ट सेक्रेटरी पदका बलियो उम्मेदवार

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । सन् २०१७ को यही मितिमा विवेक पुरीले अष्ट्रेलियाको जमिनमा पहिलोपटक पाइला टेकेका थिए । सपना थियो, ठूलो बन्ने, केही गरौँ भन्ने । तर त्यो सपना आँसु, डर, संघर्ष र अनिश्चितताको भारी बोकेर आएको थियो ।

क्लिनर, डिशवाशर, किचनह्याण्डदेखि डेलिभरीसम्म कुनै पनि काम सानो ठानेनन् । उनीसँग संघर्षको गहिरो अनुभव छ । यति हुँदाहुँदै पनि उनी दुई वटा उच्च डिग्री Master of Professional Accounting (MPA) र Master of Research सफलतापूर्वक सम्पन्न गर्न सफल भए ।

आज ठीक आठ वर्षपछि, उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया २०२५–२७ कार्यकालका लागि न्यू साउथ वेल्स (NSW) राज्यतर्फको जोइन्ट सेक्रेटरी पदमा उम्मेदवार बनेका छन् ।

‘यो उम्मेदवारी मेरो व्यक्तिगत यात्राभन्दा परको कुरा हो,’ उनी भन्छन्, ‘यो लाखौं नेपालीहरूको सपना, संघर्ष र सम्भावनाको प्रतिनिधित्व हो ।’

पारिवारिक र पेशागत पृष्ठभूमि

विवेक पुरीको जन्म र हुर्काइ बिराटनगर, नेपालमा भएको हो । उनका बुबा श्री टिकाराम पुरी विगत ४० वर्षदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आइरहेका छन् । उनी नेपालका उत्कृष्ट शैक्षिक संस्थामध्ये एक एभरेस्ट कलेज तथा स्कूलका संस्थापक हुन् । पुरी परिवारले नेपालमा २०० भन्दा बढी जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

अष्ट्रेलियामा विवेक पुरीले लामो समयदेखि शिक्षाक्षेत्रमै काम गर्दै आएका छन् । उनी सिड्नीस्थित एक प्रतिष्ठित शैक्षिक संस्थामा सेल्स तथा मार्केटिङ विभागको नेतृत्व (Head of Sales & Marketing) गरिरहेका छन् ।

सामाजिक सेवा र नेतृत्व

विवेक पुरी बिराटनगर समाज अष्ट्रेलिया का संस्थापक अध्यक्ष समेत हुन् । संस्थागत नेतृत्व, कार्यक्रम आयोजना, आप्रवासीहरूका समस्या सम्बोधन तथा समुदाय निर्माणमा उनले अग्रपंक्तिमा रहेर योगदान दिएका छन् ।

‘मैले चुपचाप धेरै रातहरू रोएँ, तर कहिल्यै हारेन, कहिल्यै पछि हटिनँ ।’ उनी भन्छन् ।

आज उनको उम्मेदवारीसँगै एनएसडब्लु राज्यमा थप उत्साह, आशा र भरोसाको वातावरण सिर्जना भएको छ । विद्यार्थीदेखि व्यवसायी, पेशाकर्मी, महिला तथा नयाँ आप्रवासी समुदायसम्म उनले पुर्‍याएको पहुँच प्रशंसायोग्य मानिएको छ ।

चुनाव, अभियान र आशा

एनआरएनए अष्ट्रेलियाको निर्वाचन आगामी २६ जुलाई २०२५ मा हुन गइरहेको छ । पुरीले एनएसडब्लु राज्यभरिका नेपाली समुदायका साझा चासो र मुद्दाहरूलाई संस्थागत ढंगबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘NRNA तपाईं, हामी सबैको पहिचान, आवाज र जिम्मेवारी हो,’ पुरी भन्छन्, ‘अब यो अभियानलाई तपाईंहरूको साथ र विश्वासले थप उचाइमा पुर्‍याउनुहोस् ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु