Sunday, July 12, 2026
Zenith Migration Education
Sunday, July 12, 2026

अष्ट्रेलियामा नयाँ एनआरएनए गठन : विवादबीच जन्मिएको अर्को सङ्गठन

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियामा गैरआवासीय नेपाली संघ (एनआरएनए) को नाममा अर्को नयाँ सङ्गठन गठन गरिएको छ । विवादबीच केन्द्रीय नेतृत्व कमजोर हुँदै जाँदा ‘नयाँ एनआरएनए अष्ट्रेलिया’ जुलाई १८, २०२५ मा दर्ता गरिएको हो । यो सङ्गठन विवेक थापाको समन्वयमा गठन भएको हो, जसले विवाद समाधान गर्दै एकता कायम गर्ने जिम्मेवारी पाएको छ ।

नयाँ एनआरएनए अष्ट्रेलियाको नाम पुरानै नामसँग मिल्दोजुल्दो भए पनि “एनआरएनए” भन्ने शब्दलाई कोष्ठकमा राखेर छुट्टै संस्था बनाइएको छ । हालै गठन भएको यो टोलीमा ३५ जना विद्यार्थी सदस्य र आठ जना सल्लाहकार रहेका छन् । नयाँ एनआरएनएले अनलाइन सदस्यता खुला गरेको छ र नयाँ सदस्यका लागि १५ डलर शुल्क निर्धारण गरिएको छ ।

यसबीच अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)मार्फत सम्पन्न एकता अधिवेशनपछि महेश श्रेष्ठ अध्यक्ष बनेका छन् । तर डा. बद्री केसी नेतृत्वको एनआरएनएले भने आधिकारिक नेतृत्व हस्तान्तरण अक्टोबरमा अधिवेशन गरेपछि मात्रै हुने अडान लिएको छ । नेतृत्वसम्बन्धी विवाद हाल सर्वोच्च अदालतमा विचाराधीन छ ।

त्यसैबीच महेश श्रेष्ठ पक्षधर अभियन्ता तथा ईन्जिनियरहरूले छुट्टै पोर्टलमार्फत सदस्यता वितरण गर्न र श्रेष्ठ नेतृत्वसँग सम्झौता पत्रमा हस्ताक्षर गर्नुपर्ने माग राख्दै आएका छन् । समन्वयक विवेक थापा भन्छन्, “यी मागहरू सम्बोधन नभएका कारण छुट्टै एनआरएनए गठन गर्नु परेको हो ।”

हाल अष्ट्रेलियामा अनिल पोखरेल नेतृत्वको एनआरएनएले आगामी जुलाई २६ मा निर्वाचनको प्रक्रिया अघि बढाइसकेको छ । महेश श्रेष्ठ नेतृत्वको एनआरएनए आइसीसी ले भने अष्ट्रेलियामा एकता अधिवेशनको जिम्मेवारी प्रदान गरेको छ ।

अष्ट्रेलियामा दुई एनआरएनएका प्रक्रियाहरू अघि बढेसँगै, प्रवासी नेपालीबीच नेतृत्व र वैधानिकताको विषयमा अन्योल बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु