काठमाडौँ । निर्वाचन आयोगले रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा आउँदो कात्तिक १७ गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार स्वीकृत कार्यक्रम अनुसार २०८२ असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ र सोही दिन बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
यसैगरी, उम्मेदवारको विरोधमा उजुरी दिने मिति २०८२ असोज २२ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिन दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी असोज २३ गते बेलुका ५ देखि ७ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय भएको छ ।
असोज २४ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता तथा सोही दिन दिउँसो १ देखि ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ६ सम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।
निर्वाचन कार्यक्रम अन्तर्गत मिति २०८२ कात्तिक १७ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
उहाँका अनुसार प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ ।



