काठमाडौँ । काठमाडौं महानगरपालिकाको छात्रवृति परीक्षामा १४ हजार विद्यार्थी सहभागी भएको छन् । महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरुमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित प्रवेश परीक्षा लिएको हो ।
शनिबार सम्पन्न भएको परीक्षामा १४ हजार एक सय ७३ जना सहभागी भएको थिए । महानगरपालिकाले आइतबारसम्म नजिता प्रकाशनको तयारी भइरहेको जनाएको छ ।
शनिबार बिहान ८ देखि १० बजेसम्म ५४ वटा परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन भएको थियो । महानगरको शिक्षा विभागका अनुसार, देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदनमध्ये १६ हजार १३७ विद्यार्थी छनोट भएका थिए । तीमध्ये १४ हजार १७३ विद्यार्थीले परीक्षामा सहभागी भएका थिए ।
परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०÷३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिएका थिए । गलत उत्तरका लागि नकारात्मक अङ्कन नहुने र उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अङ्क आवश्यक रहेको शिक्षा विभागले जनाएको छ ।
यसैगरी, परीक्षाको उत्तरपुस्तिका अप्टिकल मार्क रिकग्निसन(ओमएआर) प्रणालीमार्फत जाँच भइरहेको महानगरपालिकाले जनाएको छ । यो प्रणालीमा मेसिनले उत्तरपुस्तिकालाई स्क्यान गरी स्वचालित रूपमा जाँच गर्छ, जसले परिणामको शुद्धता र पारदर्शिता सुनिश्चित गर्ने बताइएको छ । सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार, उत्तरपुस्तिका जाँच्ने काम सुरु भइसकेको छ र आइतबार बिहान महानगरको आधिकारिक वेबसाइटमार्फत प्रकाशित हुने छ ।
काठमाडौं महानगरपालिकाले १६० संस्थागत विद्यालयहरूमा करिव चार हजारभन्दा बढी छात्रवृत्ति सिटमा छात्रवृत्ती उपलब्ध हुने पोखरेलको भनाइ छ । यी सिटहरूमा ४० प्रतिशत सामुदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थी, ५ प्रतिशत संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढेका विद्यार्थी, १४ प्रतिशत काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दा र १ प्रतिशत ल्यान्डफिल प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई प्राथमिकता दिइएको छ ।
यसका अतिरिक्त, महिला, दलित, आदिवासी/जनजाति, मधेशी, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पछौटे क्षेत्रका बासिन्दा र शहीद/बेपत्ता परिवारका लागि आरक्षण कोटा पनि छुट्याइएको छ ।



