यूक । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले यही जुलाईमा हुने निर्वाचन र अधिवेशन अवैधानिक भएको बताएको छ । एनआरएनए यूकेले बुधबार अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुरा बताएको हो ।
साथै एनआरएनए यूके सर्वोच्चको परमादेशमा गठित उच्चस्तरिय समितिले एकता महाधिवेशन गरेर काठमाडौँमा महेश श्रेष्ठ र सोही अनुरुप एनआरएनए यूकेको नेतृत्व प्रेम गाहामगरलाई दिइसकेको प्रष्ट पारेको छ ।
एनआरएनए यूकेका अध्यक्ष गाहामगरले विगत पाँच वर्षदेखि बेलायतमा विवाद रहेपनि सर्वोच्च अदालतले परमादेश जारी गरी डा. शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरिय समितिले एकता महाधिवेशनमार्फत आइसीसी र बेलायतमा आधिकारिक कमिटी चयन गरिसकेको जनाए ।
उक्त कमिटीलाई नेपाल सरकार परराष्ट्र मन्त्रालयले समेत मान्यता दिएर ८ जेठमा विश्वभरका कूटनीतिक नियोगहरुमा पत्राचार गरेको पनि गाहामगरले पत्रकार सम्मेलनमा जानकारी दिए ।
अध्यक्ष गाहामगरले विवादास्पद भएका केही व्यक्तिहरुले बेलायतमा मिलेर बसेको समाज बिथोल्न यही २६ र २७ जुलाईमा एनआरएनए यूकेको अधिवेशन भन्दै जातीय द्वन्द्व गराउन खोजेको आरोप लगाए ।
यसैगरी, एनआरएनए आइसीसी उपाध्यक्ष विश्वासदीप तिगेलाले आइसीसी अध्यक्ष महेश श्रेष्ठले नेतृत्व लिएपछि अर्को पक्षलाई समेट्न कोशिस गर्दा यसलाई कमजोरीका रुपमा लिएको बताए । उनले अब बाटो छुटिट्एको बताउँदै अक्टोबरमा हुने भनिएको अन्तर्राष्ट्रिय महाधिवेशन नहुने दाबी गरे ।
गत २१ चैत २०८० मा सर्वोच्चको परमादेशपछि उच्च स्तरिय कमिटीका संयोजक डा. शेष घलेले वैशाख २०, २१ र २२ (मे ३ देखि ५) मा काठमाडौँमा एकता महाधिवेशन सम्पन्न गरिसकेको अवस्थामा फेरि अधिवेशन भन्नु भ्रामक र दुःखदायी भएको बताए ।
कार्यक्रममा संघका सचिव कृष्णप्रसाद खतिवडाले कथित अधिवेशन अवैधानिक, गैरकानुनी र समाजले पनि स्वीकार्न नसकेको जिकिर गरे । कानुनी शासनमा चलेको देशमा बसेर विधि विधान, कानुनसम्मत चल्नुपर्नेमा सर्वोच्च अदालतको परमादेश समेत नमान्नु बिडम्बना भएको बताए ।
यसैगरी, संघका प्रमुख सल्लाहकार डा. भीम पुनले यसअघि सबैलाई समेट्ने उद्देश्य अनुरुप अर्को समूहका अध्यक्ष हितकाजी गुरुङ लगायतलाई एकताको वार्तामा ल्याउन प्रयास गरिएपनि सम्भव नभएको बताउँदै राजनीतिक पार्टीको इसारामा हुने अधिवेशन आधिकारिक नहुने र भ्रममा नपर्न अपिल गरे ।
अर्का प्रमुख सल्लाहकार राजकुमार त्रिपाठी (आरके) ले एउटा समूहले चुनाव गरेर समुदायमा गोलमाल र द्विविधा बनाएको बताए ।
एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्रीले प्रेम गाहामगरले भ्रष्टाचार र नागरिकताका मुद्दा लिएर हिँडड्दा झन् हतोत्साही पारिएको बताए । क्षेत्रीले वंशजको नागरिकता मुद्दा उठाउने साहसी प्रेम मात्र रहेको बताउँदै उनलाई सबैले प्रशंसा गर्नुपर्ने बताए ।
प्रवक्ता डा. कुलप्रसाद कंडेलले प्रेस वक्तव्य पढ्दै आसन्न चुनाव र अधिवेशन भ्रामक अनि समाज विभाजनको एक कारक रहेको बताए ।
मन्तव्यका क्रममा एनआरएनए यूके आइसीसी शारदा गुरुङ र सल्लाहकार श्रीमति नरमति पुनले पनि एनआरएनए यूके नेतृत्वप्रति भ्रममा नपर्न आग्रह गरे ।
महासचिव जुरेन्द्र खजुम लिम्बुले सञ्चालन गरेको पत्रकार सम्मेलनमा एनआरएनए यूके आइसीसी सदस्यहरु ओमप्रसाद थापा, श्रीप्रसाद गुरुङ, विजय गुरुङ, सल्लाहकारहरु गोमा राना, हितमान गुरुङ, टंक गुरुङ, मनिष खालिङ, अजयसिंह ठकुरी, एनआरएनए यूके उपाध्यक्ष उपाध्यक्ष अनिल मल्ल, पहिलो नेपाली तारा दिपक लिम्बु, नायिका रेखा लिम्बु, पत्रकार एवम् पूर्व डिएसपी बाचस्पति रेग्मीलगायतकाको उपस्थिति थियो ।



