सिड्नी (अष्ट्रेलिया) । एउटा प्रचलित भनाइ छ, ‘मेहनत गर्नेहरुको हार कहिल्यै हुँदैन ।’ मेहनत गरेर पनि व्यक्ति असफल हुन्छ भने त्यो व्यक्ति अन्यभन्दा राम्रो हुन्छ । उसले कुनै गलत वा छोटो तरिकाबिना सफल भएको हुन्छ ।
मेहनत गर्नाले हामीले अनुभव मात्र नभई जीवनमा केही पाठ सिकाउँछ र आफूमा सन्तुष्टि पनि दिन्छ । एक पटक गरेको मेहनत कुनै न कुनै ठाउँमा काम लाग्छ । त्यसलै, जीवनमा सफतलापूर्वक आफ्नो लक्ष्य प्राप्त गर्नका लागि मेहनत अनिवार्य गर्नुपर्दछ ।
मेहनत गर्दा व्यक्ति असफल हुन्छ भने पनि पटक–पटक प्रयास गर्नुपर्दछ किन भने साँचो सफलता निरन्तर प्रयास गर्नाले नै प्राप्त हुन्छ । यसै सफलाका लागि एक नेपाली युवक विदेशी भूमिमा निरन्तर प्रयासमा छन् ।
नेपालको सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–६ मा जन्मेका अफजल अन्सारी अत्यन्तै मेहनती र संवेदनशील स्वभावकका युवक हुन् ।
समयको चक्रसँगै उनले बुबाको माया गुमाउनु पर्यो । शिरबाट झरेको त्यो आश्रयले उनलाई भत्काउन सकेन, बरु उल्टै जीवनप्रतिको बुझाईलाई गहिरो बनाए ।

अन्सारीको जीवनका मूल आधार बाबुआमा नै एकपछि अर्को हराउँदै गए । यो कठिन परिस्थितिसँग जुझ्दै उनी अहिले अष्ट्रेलियाको सिड्नी शहरमा नेपाली स्वादको प्रखर प्रतिनिधि बनेर उदाएका छन् ।
काठमाडौँको बानेश्वरस्थित Ambition College मा प्लस टु गर्दै गर्दा अफजलले पढाइसँगै “आरए इन्स्टिच्युट” सञ्चालन गरे । जहाँ उनले कक्षा ५ देखि १० सम्मका बालबालिकालाई ट्युसन पढाउँथे । ट्युसन पढाए वापत आएको पारिश्रमिकले उनको जीवन यापनमा सहयोग पुग्थ्यो । त्यो समय अभावको गुनासो होइन, अवसरको खोजी थियो, अफजलका लागि ।
सन २०२० सालमा अफजल University of Technology Sydney मा आइटी (IT) पढ्न आए । उनकी आमा भने सधैँका लागि घरमै रोकिइन्, उनको निधन अफजल अष्ट्रेलिया आउनु ठीक दुई महिना अगाडि भयो । त्यस क्षण उनले दुःखलाई गहिरो गरी निल्दै आँसु भित्रै थामे । सर्लाही घरमा अहिले उनका एक दाजु र एक दिदी छन् । उनी घरको कान्छो छोरा हुन् ।

आफ्नो दुःखलाई किनारा लगाउँलै पढाइमा केन्द्रित हुन थाले अफजल । तर आइटी विषयमा उनी रमाउन सकेनन्। केही समयपछि उनले Hospitality Management मा स्नातक सुरु गरे र त्यहीँबाट उनको नयाँ परिचय निर्माण हुँदै गयो ।
हाल उनी सम्बन्ध रेष्टुरेन्ट, ओबर्नमा हेड शेफको रूपमा कार्यरत छन् । सिड्नीको ओबर्नकै पहिलो नेपाली रेष्टुरेन्टका रूपमा परिचित सम्बन्धले अफजलको कलालाई मञ्च दियो ।
उनको हातबाट बनेको परिकारमा स्वाद मात्र होइन कि स्मृति मिसिन्छ । मातृस्वाद, मधेशीपन, नेपालीपन अनि परदेशी आत्माको चाह ।
एकदिन अष्ट्रेलियाका शिक्षा मन्त्री जेसन क्लेयर आफैँ रेष्टुरेन्टमा पुगे । अफजलले बनाएको परिकार खाएपछि मन्त्रीले मुस्काउँदै भने, “This is absolutely delicious!” त्यो तारिफमा अफजलको मेहनत, संस्कार र संस्कृतिको सुबासना मिसिएको थियो ।
अफजल मुस्लिम समुदायका प्रतिनिधि हुन्, तर उनी धर्म, जात, क्षेत्रभन्दा माथि उठेर ‘मानवता’को पक्षधर छन् ।
सिड्नीमा भर्खर भर्खर नयाँ आएका नेपाली विद्यार्थीहरूलाई कोठा खोजिदिनेदेखि लिएर कलेजको सल्लाह, कामको जानकारी, परामर्श—सबैमा उनको उपस्थिति पाउन सकिन्छ ।

अफजल अझै अविवाहित छन् । “सजिलो स्वभाव, व्यावहारिक सोच भएकी केटी भए पुग्छ” भन्ने उनको जीवनदर्शन सादा छ, उनी भन्छन् ।
“जीवन मिठो हुन खानामा मात्र होइन, सम्बन्ध र सोचमा पनि स्वाद हुनुपर्छ ।” भोलिको दिनमा व्यवसायसँगै समाजसेवामा लाग्ने उनको सोच छ । “म सधैँ सबै समुदायसँग मिलेर अघि बढ्न चाहन्छु,” उनी भन्छन् ।
अफजल अन्सारी, एक मधेशी युवा जसले भान्सालाई कर्मको मञ्च बनाए, स्वादलाई संस्कृतिको माध्यम बनाए र सेवा, सहयोग र संवेदनशीलता भित्र साँचो नेपालीपनलाई स्थापित गर्दैछन् सिड्नीको चम्किलो शहरमा सधैँ अरूको खुशीमा आफ्नो सन्तुष्टि खोज्ने उनीजस्ता पात्रहरू नै त विदेशमा नेपालको सास, स्वाद र सम्मान जोगाउने साँचो नायक हुन् ।



