सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचनमा सचिव पदमा उम्मेदवारी दिएका कल्याण खड्काले जित्ने दाबी गरेका छन् ।
आगामी नयाँ कार्यकाल (२०२५–०२७) का लागि खड्काले एनआरएनए अष्ट्रेलियाको सचिव पदमा उम्मेदवारी दिएका हुन् । यही जुलाई २६ मा एनआरएनएको निर्वाचन हुँदैछ । उनले यसअघि सन् २०२२ देखि ०२५ सम्म राज्य सचिवको रुपमा काम गरिसकेका छन् ।
यसैलाई मध्यनजर गर्दै बचन न्यूजसँग कुरा गर्दै सचिव पदका उम्मेदवार खड्काले आफू अध्यक्ष उम्मेदवार सन्तोष कुँवरको एजेण्डसहित अगाडि बढेको जानकारी दिए । साथै उनले यो निर्वाचनमा सचिव पदमा जित्ने दाबी समेत गरे ।
दुई वर्ष राज्य सचिवको रुपमा काम गर्दा एनआरएनएलाई नजिकबाट बुझ्ने अवसर पाएका कारण यसमा अबद्ध हुन मन लागेका उनको भनाइ छ ।
अष्ट्रेलियामा नेपाली समुदायलाई राम्रो देखाउनुपर्ने बताउँदै उनले अन्य समुदायप्रति पनि एनआरएनएको भूमिका महत्त्व पूर्ण रहेको जानकारी दिए । अष्ट्रेलियामा बसोबास गर्ने समुदायले नेपाली समुदायलाई एनआरएनए भनेर चिन्ने गरेको उनले बताए ।
उनका अनुसार एनआरएनए जति राम्रो हुन्छ हाम्रो समुदायप्रतिको आदर अरु समुदायमा त्यतिनै बढ्दै जाने गरेको छ । ‘‘मैले एनआरएनएमा सिकेको, बुझेको वा सिक्दै गरेको कुराहरु अन्य समुदायमा योग्दान गर्न सक्छु जस्तो लागेर यसमा आबद्ध हुन निर्वाचनमा उम्मेदवारी दिएको हुँ ।’’ उनले भने ।
उनले भने, ‘‘यो निर्वाचनमा सन्तोष कुँवरको टिमले जित्छ । हाम्रो टिमको एजेण्डाले टिमलाई अझै बलियो बनाउँछ ।’’ आगामी कार्यकालका लागि एनआरएनए निर्वाचनमा उम्मेदवारहरु आ–आफ्नो मुख्य एजेण्डा र योजनासहित प्रचारप्रसारमा व्यस्त छन् ।



