पश्चिम एसियामा चुलिँदो तनावबीच इरानले कतारको राजधानी दोहास्थित अमेरिकी सैन्य अखडा अल उदैद एयरबेसलाई लक्षित गरी मिसाइल आक्रमण गरेको छ ।
कतारले अमेरिकाद्वारा सञ्चालित अल उदैद सैन्य अड्डामाथि आक्रमण भएको पुष्टि गरेको छ । यो हमलाबाट मानवीय क्षतिको रिपोर्ट अहिलेसम्म प्राप्त भएको छैन ।
कतारले यसलाई आफ्नो सार्वभौमिकतामाथिको ठाडो हस्तक्षेप भन्दै कडा शब्दमा निन्दा गरेको छ भने आक्रमणलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको दाबी गरेको छ । इरानको सरकारी टेलिभिजनले सैन्य संगीतसहित स्क्रिनमा ‘अमेरिकाको आक्रमणको विरुद्ध इरानी सशस्त्र बलको शक्तिशाली र सफल प्रतिउत्तर’ भन्दै आक्रमणको जिम्मेवारी लिएको बेलायती समाचार संस्था द गार्डियनले जनाएको छ ।
यो घटना इजरायल-इरान तनावमा अमेरिकाको संलग्नता बढेपछि इरानले बदला लिने धम्की दिएको केही दिनपछि भएको हो ।
आफ्नो भूमिमा रहेको अमेरिकी सैन्य अखडामाथि आक्रमण भएपछि कतारले तत्काल कडा प्रतिक्रिया जनाएको छ । कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले एक विज्ञप्ति जारी गर्दै इरानको रिभोल्युसनरी गार्डद्वारा गरिएको आक्रमण ‘सार्वभौमिकता, हवाई क्षेत्र र संयुक्त राष्ट्रसंघको सन्धिको खुला उल्लंघन’ भएको बताएका छन् ।
‘कतार राज्यले अन्तर्राष्ट्रिय कानुनअनुसार यस स्पष्ट आक्रामकतामा प्रत्यक्ष रूपमा प्रतिक्रिया जनाउने अधिकार सुरक्षित राख्दछ,’ विज्ञप्तिमा भनिएको छ । कतारको रक्षा मन्त्रालयले पनि आफ्नो हवाई सुरक्षा प्रणालीले इरानी मिसाइलहरूलाई सफलतापूर्वक रोकेको र कुनै पनि मानवीय वा भौतिक क्षति हुन नदिएको स्पष्ट पारेको छ ।
अमेरिका सतर्क
अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले घटना आफ्नो जानकारीमा आएको र स्थितिको गम्भीरतापूर्वक मूल्यांकन गरिरहेको बताएको छ । अमेरिकाले आफ्ना नागरिक र सैनिकको सुरक्षा सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्ने जनाएको छ । यो आक्रमणले वासिङ्टनमा खैलाबैला मच्चाएको छ र अमेरिकी राष्ट्रपतिले राष्ट्रिय सुरक्षा परिषद्को आपतकालीन बैठक डाकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कतारमा रहेका नेपालीमा त्रास
कतारमा करिब ४ लाखको संख्यामा नेपाली कार्यरत छन् । सोमबार साँझ भएको यो अप्रत्याशित आक्रमणले त्यहाँस्थित नेपाली समुदायमा ठूलो त्रास र चिन्ता छाएको छ ।
एक नेपाली प्रत्यक्षदर्शीले घटनाको भयानक वर्णन गर्दै भने, ‘सोमबार साँझ करिब ७:५५ बजेतिर भूकम्प जाँदा आउने जस्तै निकै ठूलो आवाज आयो । आकाशमा हेर्दा तारा खसेजसरी ५० भन्दा बढी झिल्काहरू देखि ए। बम खसेको होइन, तर रकेटहरूलाई माथि आकाशमै निस्क्रिय पारिएको जस्तो देखिन्थ्यो ।’
आक्रमणलगत्तै कतारले केही समयका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो, जसले गर्दा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका थिए । यद्यपि, कतारको गृह मन्त्रालयले देशको सुरक्षा अवस्था सामान्य र स्थिर रहेको भन्दै नागरिकलाई अफवाहमा विश्वास नगर्न र आधिकारिक स्रोतबाट मात्र जानकारी लिन आग्रह गरेको छ ।



