Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

चेपाङ विद्यार्थीलाई नेपाल ट्युबको शैक्षिक सामग्री

Zenith Migration Education

नेपाल ट्युब अस्ट्रेलियाले धादिङ, बेनिघाट गाउँपालिका वडा नम्बर १० स्थित कोश्राङ आधारभूत विद्यालयका चेपाङ विद्यार्थीलाई छात्रवृत्तिसहित शैक्षिक सामग्री वितरण गरेको छ ।

असार ६ गते (शुक्रबार) नेपाल ट्युबको तर्फबाट एक्सन नेपालले शैक्षिक सामाग्री वितरण गरेको हो । विद्यालय व्यस्थापन समितिका अध्यक्ष तथा वडा सदस्य सूर्यमान चेपाङ र विद्यालयका प्राध्यानाध्यापक सुशीलराज गिरीको उपस्थितिमा छात्रवृत्तिसहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

आफ्नो सामाजिक सञ्जालमा २० लाख भन्दा बढी फलोअर्स पुगेको अवसरमा नेपाल ट्युबले एक्सन नेपालको सहकार्यमा छात्रवृत्ति वितरण गरेको हो ।

कक्षा पाँचसम्म अध्यापन हुँदै आएको उक्त विद्यालयमा ६३ जना विद्यार्थी छन् । जसमा ५८ जना चेपाङ समुदायका विद्यार्थी हुन् । विद्यालयका प्राध्यानाध्यापक सुशीलराज गिरीले यस सहयोगले चेपाङ समुदायको बालबालिकालाई पढाईमा सहयोग पुग्ने बताए । ‘यस विद्यालयमा कमजोर आर्थिक अवस्था भएका परिवारका बालबालिका पढन् आउँछन्,’ उनले भने, ‘यस सहयोगले चेपाङ बालबालिका पढाईबाट बञ्चित हुने छैनन् ।’

नेपाल ट्युब र एक्सन नेपालले प्रति विद्यार्थीलाई एक थान झोला, ३६ थान कापी, एक दर्जन पेन्सिल, एक थान क्याल्कुलेटर, एक थान ज्यामिती बक्स, एक दर्जन रंगिन पेन्सिल, एक थान आर्ट कापी र दुई दर्जन सिसाकलम प्रदान गरेको छ ।

‘लाखौंमा एक’ अभियान नेपाल ट्युबप्रति समर्पित लाखौं दर्शकलाई सम्मान गर्ने उत्सवको माध्यम रहेको नेपाल ट्युबका प्रधान सम्पादक सरल गुरुङले बताए । ‘नेपाल ट्युबले यही समाज र नेपाली जनताको मायाले गर्दा विदेशमा बसेर मिडिया सञ्चालन गर्न सकेका छौं । केही आम्दानी गर्न सकेका छौं,’ उनले भने, ‘त्यसैले आफूले कमाएको केही रकम दुःख र अप्ठ्यारोमा परेका नेपाली समाजलाई दिने हाम्रो उद्देश्य हो ।’ त्यतिमात्र नभई यो अभियानले प्रत्येक विद्यार्थीमा अद्वितीय क्षमता हुने र उनीहरु नै ‘लाखौंमध्ये एक’ रहेको गुरुङले सुनाए ।

नेपाल ट्युबको यो कदम सामाजिक प्रभाव, शिक्षा र समुदायसँगको सम्बन्धप्रति निरन्तर प्रतिबद्धताको प्रतिक रहेको उनले बताए । यसले डिजिटल प्लेटफर्मले वास्तविक जीवनमा परिवर्तन ल्याउन सक्ने सम्भावना राखेको उनको भनाई छ । 

नेपाल ट्युबले देश तथा विदेशमा भएका विद्यार्थीका लागि छात्रवृत्तिको अवसर प्रदान गरिरहेको छ । सन् २०२३ मा नेपाल ट्युबले अष्ट्रेलियाको टेक स्किल इस्टिच्युटसँगको सहकार्यमा ‘न्यु अबिलिटी’ छात्रवृत्ति ल्याएको थियो । जसअन्तर्गत अस्ट्रेलियामा आईटी पढिरहेका ८ जना विद्यार्थीलाई ४० हजार अस्ट्रेलियन डलर बराबरको छात्रवृत्ति प्रदान गरेको थियो ।

यसैगरी २०२४ मा नेपालका हिमाल, पहाड र तराईका ६ जना क्रिकेटरलाई छात्रवृत्ति प्रदान गरेको थियो । किक्रेट एक्सिलेन्सी सेन्टरसँगको सहकार्यमा नेपाल ट्युबले प्रोफेसनल क्रिकेट तालिमका लागि छात्रवृत्ति प्रदान गरेको हो । यति मात्र नभई नेपाल ट्युबले गत वर्ष विभिन्न परोपकारी पहलमार्फत झण्डै ३ लाख अस्ट्रेलियन डलर योगदान गरिसकेको छ ।

नेपाल ट्युब अष्ट्रेलियामा संचालित मल्टिमिडिया प्लेटफर्म हो । नेपाल ट्युबले विगत ८ वर्षदेखि देश विदेशमा रहेका नेपाल र नेपालीसंग सम्बन्धित सुचना, जानकारी र शिक्षामुलक सामाग्रीहरु प्रशारण र प्रकाशन गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु