अष्ट्रेलिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अष्ट्रेलियाको सिड्नीमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । रास्वपाले पार्टीको तेस्रो वार्षिकोत्सवका अवसरमा अष्ट्रेलियाका विभिन्न सहरमा अन्तर्क्रिया कार्यक्रम गरेको हाे ।
शनिवार सिड्नीस्थित हिमालयन ग्रिल एण्ड बार (बाजेको सेकुवा) मा अन्तरक्रिया सम्पन्न गरेको हाे । कार्यक्रमलाई नेपालको काठमाडौं क्षेत्र नं. ७ का संघीय सांसद गणेश पराजुलीले सम्बोधन गरेका थिए ।
कार्यक्रममा नेपालको वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको थियो । कार्यक्रममा रास्वपा सांसद पराजुलीले विश्वभर रहेका प्रवासी नेपालीहरुले आफ्नो मातृभूमि निर्माणमा सक्रिय रुपमा सहभागी हुन आव्हान गरे । उनले रास्वपालाई पार्टीलाई बलियो बनाउनका लागि पनि सहयोगको अपिलसमेत गरेका छन् ।

रास्वपाको अन्तर्किया कार्यक्रम शनिवार सिड्नीमा सम्पन्न भएको छ भने भोलि अर्थात् जुन २२ ब्याङबेरेटमा र जुन २३ मा मेलबर्नमा अन्तर्क्रिया कार्यक्रम गरिने आयोजक प्रवास नेपाली सम्पर्क विभाग अष्ट्रेलियाका केन्द्रीय प्रमुख डा. कृष्ण पौडेलले दिए ।

सांसद पराजुली हाल अष्ट्रेलिया भ्रमणमा छन्। सिड्नीमा १७ र १८ जुनका दिन आयोजित गार्मेन्ट एशोसिएसन अफ नेपाल (GAN) को प्रदर्शनी कार्यक्रममा सहभागी हुन उनी अष्ट्रेलिया आएका हुन्। निर्यात व्यवसायमा पनि सक्रिय पराजुली मेलबर्नको कार्यक्रमपछि २४ जुनमा नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ।




