Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

रास्वपाको तेस्रो वार्षिक उत्सव अष्ट्रेलियामा — सांसद गणेश पराजुलीको प्रमुख आतिथ्यमा तीनवटै सहरमा कार्यक्रम

Zenith Migration Education

सिड्नी, जुन २०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तेस्रो वार्षिक उत्सव तथा अन्तरक्रिया कार्यक्रम अष्ट्रेलियाका तीन सहरहरू सिड्नी, क्यानबेरा र मेलबर्नमा आयोजना हुने भएको छ। काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधित्व गर्ने संघीय सांसद तथा रास्वपाका केन्द्रीय कार्यकारिणी सदस्य गणेश पराजुलीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न हुनेछ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको औपचारिक जानकारी प्रवास नेपाली सम्पर्क विभाग अष्ट्रेलियाका केन्द्रीय प्रमुख डा. कृष्ण पौडेलले दिएका छन्। उनका अनुसार प्रवासी नेपालीहरूसँग शुभकामना आदानप्रदान गर्नुका साथै उनीहरूको विचार, भावना र सुझावहरू सुन्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

साथै, नेपालमा विद्यमान समसामयिक राजनीतिक अवस्था र रास्वपाको दृष्टिकोणबारे जानकारी आदानप्रदान गरिने आयोजकले जनाएका छन्।

सिड्नीमा पहिलो कार्यक्रम शनिबार, २१ जुन बिहान १० बजेबाट The Himalayan Grill, Merrylands मा आयोजना हुनेछ। कार्यक्रममा न्यू साउथ वेल्स राज्य समिति संयोजक रहनेछ।

त्यसपछि क्यानबेरामा आइतबार, २२ जुन दिउँसो ३ बजेदेखि ६ बजेसम्म The Hungry Buddha, Belconnen मा कार्यक्रम हुनेछ, जसको संयोजन ACT राज्य समितिले गर्नेछ।

त्यसैगरी मेलबर्नमा सोमबार, २३ जुन साँझ ४ बजेदेखि ५:३० बजेसम्म Wollert स्थित 81 Salt Lake Boulevard मा कार्यक्रम आयोजना गरिनेछ। मेलबर्न कार्यक्रमको व्यवस्थापन भिक्टोरिया राज्य समितिले गर्नेछ।

सांसद पराजुली हाल अष्ट्रेलिया भ्रमणमा छन्। सिड्नीमा १७ र १८ जुनका दिन आयोजित गार्मेन्ट एशोसिएसन अफ नेपाल (GAN) को प्रदर्शनी कार्यक्रममा सहभागी हुन उनी अष्ट्रेलिया आएका हुन्। निर्यात व्यवसायमा पनि सक्रिय पराजुली मेलबर्नको कार्यक्रमपछि २४ जुनमा नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु