Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

नेपाल फेस्टीभल २०२५: ब्रिसबेनमा सांस्कृतिक झल्को र उत्सवको रौनक

Zenith Migration Education

ब्रिसबेन, अष्ट्रेलिया – नेपाली समुदायको सांस्कृतिक गौरव उजागर गर्ने उद्देश्यले आयोजित नेपाल फेस्टीभल २०२५ अन्ततः ब्रिसबेनमा भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ। क्विन्सल्याण्डको राजधानी ब्रिसबेनको मुटुमा आयोजना गरिएको यस समापन समारोहले सम्पूर्ण शहरलाई नेपाली सांस्कृतिक रङमा रंगायो।

कार्यक्रमको प्रमुख आकर्षणमा परम्परागत नेपाली पोशाकसहितको बृहत् परेड, क्षेत्रीय सांस्कृतिक नृत्य र गीतहरू, स्वादिलो नेपाली खाना, हस्तकलाका स्टलहरू, र ‘नेपाल हाउस’ नामक विशेष प्रदर्शनी थिए। नेपाल हाउस ले नेपाली कला, इतिहास, पर्यटन र संस्कृतिको जीवन्त झल्को प्रस्तुत गर्दै अष्ट्रेलियाली दर्शकहरूको ध्यान तानेको थियो।

यसपटकको कार्यक्रमको विशेषता भनेकै क्विन्सल्याण्डका माननीय प्रिमियर डेभिड क्रिसाफुली को ऐतिहासिक सहभागिता रहनु हो। यो पहिलो पटक हो, जब कुनै राज्य प्रिमियरले नेपाल फेस्टीभल ब्रिसबेनमा उपस्थित भई नेपाली समुदायसँग ऐक्यबद्धता जनाएका छन्। साथै, नेपाली राजदूत चित्रलेखा यादव र अष्ट्रेलियाली राजनीतिका दुबै धारका नेताहरूको उपस्थिति कार्यक्रमको गरिमा थप्ने खालको रह्यो।

एनआरएनए अष्ट्रेलियाको नेतृत्वमा सम्पन्न यो फेस्टीभल डार्विन, पर्थ, सिड्नी, एडिलेड, मेलबर्न, क्यानबरा, होबार्ट हुँदै अन्ततः ब्रिसबेन मा समापन भएको हो। प्रत्येक सहरमा हजारौं दर्शकहरूको सहभागिता रहेको थियो, जसमा स्थानीय सरकार, समुदाय अगुवा, अष्ट्रेलियाली नागरिक तथा अन्तर्राष्ट्रिय पाहुनाहरूको उत्साहजनक उपस्थिति देखिएको थियो।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल ले सहभागी सबै स्वयंसेवक, आयोजक टिम, स्थानीय नेपाली संघ-संस्थाहरू, प्रायोजक तथा दर्शकहरूलाई धन्यवाद दिँदै भने, “यो यात्रा केवल सांस्कृतिक उत्सव मात्र होइन, अष्ट्रेलियामा नेपाली समुदायको पहिचान, आत्मगौरव र एकताको समुन्नत प्रदर्शन पनि हो।”

अब नेपाल फेस्टीभल अष्ट्रेलियामा नेपाली समुदायको प्रतीक्षित तथा नियमित पर्वको रूपमा स्थापित भइसकेको छ। यस्तो उत्सवले नयाँ पुस्तालाई आफ्नो संस्कृति सँग जोडिरहने प्रेरणा दिन्छ भने अष्ट्रेलियाली मूलधारलाई नेपाली संस्कृति नजिकबाट बुझ्ने मौका दिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु