Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

मंगला कम्युनिटी अष्ट्रेलियाको भेटघाट तथा साँगीतिक कार्यक्रम सम्पन्न

Zenith Migration Education

सिड्नी — अष्ट्रेलियामा रहेका म्याग्दी जिल्लाका मंगला गाउँपालिका तथा वरपरका क्षेत्रका नेपालीहरूको संगठन मंगला कम्युनिटी अष्ट्रेलियाले आइतबार सिड्नीमा भव्य भेटघाट तथा साँगीतिक कार्यक्रम सम्पन्न गरेको छ। ओर्बन पार्कमा आयोजित उक्त कार्यक्रमले आपसी सद्भाव, एकता र सहयोगको भावना प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको कम्युनिटीले जनाएको छ।

कार्यक्रम मंगला कम्युनिटीका अध्यक्ष किस्मत मल्ल ठकुरीको अध्यक्षतामा सम्पन्न भएको हो। सो अवसरमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाका अध्यक्ष सुसन श्रेष्ठले प्रवासमा रहेका म्याग्देलीहरूबीचको एकता र सहकार्यप्रति खुसी व्यक्त गर्दै आगामी दिनहरूमा अझ सशक्त रूपमा अघि बढ्नुपर्ने धारणा राखे।

कार्यक्रममा होटल व्यवसायी इन्द्र तुलाचन, जलजला परिवार अष्ट्रेलियाका अध्यक्ष दिपेन्द्र भण्डारी, बावा एजुकेशन कन्सल्टेन्सी सिड्नीका प्रबन्ध निर्देशक रविन्द्र कुमार शर्मा लगायत कम्युनिटीका सल्लाहकार, पदाधिकारी र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सञ्चालन सचिव वीरेन्द्र दगामी पुनले गरेका थिए।

साँगीतिक प्रस्तुतीका रुपमा लोकगायिका निशा केसी, मिलन विश्वकर्मा र गायक यमन जुग्जालीले आफ्ना प्रस्तुतीमार्फत उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रममा मंगला कम्युनिटीका महिला तथा पुरुष भलिबल टोलीलाई जर्सी पनि हस्तान्तरण गरिएको थियो। उक्त जर्सी बावा एजुकेशन कन्सल्टेन्सीले प्रायोजन गरेको हो।

जर्सी हस्तान्तरण समारोहमा बोल्दै बावा एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक शर्मा ले खेलकुद जस्ता सकारात्मक अभियानमार्फत समाजमा योगदान दिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु