सिड्नी — अष्ट्रेलियाका संघीय शिक्षामन्त्री माननीय जेसन क्लेयर नेपाली समुदायसँग प्रत्यक्ष संवादमा सहभागी भएका छन्। अवर्न नेपाली समुदाय र ग्रान्भिल नेपाली समुदायको संयुक्त आयोजनामा सम्पन्न उक्त ‘मिट एण्ड ग्रिट’ कार्यक्रम आइतवार सम्पन्न भएको हो।
कार्यक्रममा मन्त्री क्लेयरले शिक्षा क्षेत्रका वर्तमान नीतिहरू तथा आगामी योजनाबारे जानकारी दिँदै नेपाली–अष्ट्रेलियाली समुदायका प्रतिनिधिहरूद्वारा उठाइएका विविध सवालमा प्रत्यक्ष प्रतिक्रिया दिएका थिए। उनी आगामी ३ मे २०२५ मा हुने संघीय चुनावमा पुनः उम्मेदवार समेत हुन्।

कार्यक्रममा नेपाली समुदायका अगुवा, विद्यार्थी, व्यवसायी, अभिभावक तथा विभिन्न पेशागत क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले आफ्ना शिक्षासम्बन्धी अनुभव, चुनौती, तथा सुझावहरू मन्त्री क्लेयर समक्ष राखेका थिए।


उक्त अवसरमा प्यासिफिक कलेजका मार्केटिङ प्रमुख सागर पौडेलले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अष्ट्रेलियाको आवास संकटको दोष दिने सरकारी धारणा सम्बन्धमा गम्भीर प्रश्न उठाएका थिए। मन्त्री क्लेयरले स्पष्ट रूपमा “विद्यार्थीहरू आवास संकटको वास्तविक कारण होइनन्” भनी जवाफ दिँदै यो धारणा गलत भएको स्पष्ट पार्नुभयो।


पौडेलले अष्ट्रेलियाका निजी व्यावसायिक कलेजहरूले देशको उच्च शिक्षा र जनशक्तिको विकासमा खेलेको भूमिकालाई कसरी औपचारिक रूपमा मान्यता दिन सकिन्छ भन्ने विषयमा पनि कुरा उठाएका थिए। मन्त्री क्लेयरले यदि पुनः निर्वाचित भएमा व्यावसायिक शिक्षा क्षेत्रलाई स्थायित्व दिने र योगदानको कदर गर्ने प्रतिबद्धता जनाए।
अन्य सहभागीहरूले पनि शिक्षा प्रणाली, रोजगारीका अवसर, अध्यागमन नीतिहरू, र सामुदायिक सेवाजस्ता विविध आर्थिक तथा सामाजिक मुद्दाहरूमा मन्त्रीसँग संवाद गरेका थिए। मन्त्री क्लेयरले सरकारको प्राथमिकता अर्थतन्त्रको सुधार र जनताको दैनिक जीवन सहज बनाउनेतर्फ केन्द्रित रहेको जानकारी गराएका थिए।
कार्यक्रमका आयोजकहरूका अनुसार मन्त्री क्लेयरले खुलेर संवाद गर्नुका साथै सहभागीहरूको भनाइलाई ध्यानपूर्वक सुनेका थिए र नेपाली समुदायको शैक्षिक क्षेत्रप्रतिको सक्रियता र चासोलाई सकारात्मक रूपमा लिएका थिए।
ओवर्न नेपाली समुदायका पूर्व अध्यक्ष जितेन्द्र श्रेष्ठले भने, “माननीय मन्त्रीले हाम्रो समुदायप्रति देखाउनुभएको सम्मान र समयका लागि हामी आभारी छौं। उहाँको उपस्थितिले समुदायको आवाज सुन्ने र सम्बोधन गर्ने वातावरणलाई थप सुदृढ बनाएको छ।”
कार्यक्रममा बरवुड काउन्सिलकी काउन्सिलर सुईकृति भट्ट, ग्रान्भिल नेपाली समुदायका अध्यक्ष भिम बस्नेत, ओवर्न नेपाली समुदायका वर्तमान उपाध्यक्ष हेमन लामिछाने, व्यवसायी मिरा, झापाली समाज अष्ट्रेलियाका अध्यक्ष अशोक उप्रेती, र बाबा एजुकेसनका सञ्चालक रविन्द्र शर्मा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।







