Monday, September 14, 2026
Zenith Migration Education
Monday, September 14, 2026

भोटेकोसी बाढीपीडितका लागि मिन्टोमा MRNC–बंगलादेशी समुदायको च्यारिटी ब्रञ्च

Zenith Migration Education

सिड्नी—भोटेकोसी नदीको बाढीबाट प्रभावित नेपाली परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले MRNC र बंगलादेशी समुदायले आइतबार अस्ट्रेलियाको मिन्टोमा च्यारिटी ब्रञ्च आयोजना गरेका छन्।

कार्यक्रममा न्यु साउथ वेल्सका मन्त्री अनुलाक चन्थिभोङ, संघीय सांसद डेभिड मोन्क्रिफ, क्याम्पबेलटाउनका मेयर डार्सी लाउन्ड तथा काउन्सिलरहरू मसुद चौधरी, आस रहमान र मसुद खलिललगायत विभिन्न समुदायका अगुवा तथा सर्वसाधारण सहभागी थिए।

कार्यक्रममा बाढीका कारण ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै विस्थापित तथा प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गरियो। पीडित परिवारका लागि तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेकोमा पनि जोड दिइयो। कार्यक्रममा संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत पीडित परिवारको सहयोगमा पठाइने आयोजकले जनाएको छ।

मन्त्री चन्थिभोङले नेपालमा भएको विपत्तिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको बताए।

संघीय सांसद मोन्क्रिफले प्रभावित परिवारलाई सहयोग गर्नु साझा मानवीय जिम्मेवारी भएको बताए।

मेयर लाउन्डले क्याम्पबेलटाउन सिटी काउन्सिल नेपाली समुदाय र नेपालका बाढीपीडितको साथमा रहेको बताउँदै राहत तथा पुनःस्थापनामा सहकार्य गर्ने प्रतिबद्धता जनाए।

काउन्सिलरहरू चौधरी, रहमान र खलिलले समुदायबीचको सहकार्यबाट मानवीय सहयोगलाई प्रभावकारी बनाउन सकिने बताए।

MRNC अध्यक्ष सोनी तुलाधरले विपत्तिमा परेका परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन सहयोग आवश्यक रहेको बताइन्।

उपाध्यक्ष सृजना उप्रेती संग्रौलाले प्रवासमा रहेका नेपालीहरू पीडित परिवारको साथमा उभिनुपर्नेमा जोड दिइन्।

नेपाली समुदायका अगुवा विनोद पौडेलले मातृभूमिमा परेको विपत्तिमा प्रवासबाट सक्दो सहयोग गर्नुपर्ने बताए।

कार्यक्रमको सञ्चालन MRNC की पूर्वअध्यक्ष उषा खड्काले गरेकी थिइन्। उनले भोटेकोसी नदीको बाढीबाट विस्थापित परिवारलाई सहयोग गर्न सबैलाई आग्रह गरिन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु