Sunday, August 16, 2026
Zenith Migration Education
Sunday, August 16, 2026

भाषा, साहित्य र संस्कृतिको संरक्षण साझा दायित्व : सभामुख अर्याल

Zenith Migration Education

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले भाषा, साहित्य र संस्कृतिको संरक्षण राज्य, समाज र प्रत्येक पुस्ताको साझा दायित्व भएको बताएका छन् ।

शनिबार सम्मान तथा पुरस्कार समर्पण एवं कृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले पुरस्कार सम्मानको प्रतीक मात्र नभई समाज र राष्ट्रका लागि व्यक्तिले गरेको योगदानको सार्वजनिक स्वीकृति भएको बताए । 

उनले विशेषगरी नवप्रतिभाको पहिचान र प्रोत्साहनलाई महत्वपूर्ण विषयका रूपमा लिनुपर्ने धारणा राखे ।

‘राष्ट्र केवल भूगोलले मात्र बन्दैन । राष्ट्र भाषा, संस्कृति, इतिहास, साहित्य र सामूहिक स्मृतिले पनि जोडिएको हुन्छ,’ उनले भने, ‘हाम्रो संविधानले पनि नेपालको विविधताबीचको एकता तथा भाषा, संस्कृति र सम्पदाको संरक्षणलाई महत्वपूर्ण स्थान दिएको छ ।’

सभामुख अर्यालले भाषा, साहित्य र संस्कृतिको संरक्षण कुनै एक संस्था वा व्यक्तिको मात्र जिम्मेवारी नभएको उल्लेख गर्दै राज्य, समाज र हरेक पुस्ताले यसलाई साझा दायित्वका रूपमा लिनुपर्ने बताए ।

उनले विकास, प्रविधि र आर्थिक समृद्धि आवश्यक भए पनि त्यसले मुलुकको पहिचानलाई बलियो बनाउन नसके विकास अधुरो हुने धारणा व्यक्त गरे । आधुनिक प्रविधिको प्रयोग र विश्वसँग प्रतिस्पर्धा गर्ने क्षमता विकाससँगै मौलिक भाषा, साहित्य, कला र संस्कृतिप्रति गर्व गर्नुपर्नेमा उनले जोड दिए ।

‘आज हामीले एउटा प्रतिभालाई सम्मान गर्दा अर्को एउटा पुस्तालाई प्रेरणा दिइरहेका हुन्छौं । एउटा बाल साहित्यकारलाई प्रोत्साहन गर्दा भविष्यका हजारौं बालमनमा सिर्जनाको बीउ रोपिरहेका हुन्छौं,’ उनले भने ।

सभामुख अर्यालले पछिल्लो पुस्ता प्रविधिसँग अत्यन्त नजिक रहेको उल्लेख गर्दै सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता र विश्वव्यापी सञ्चारका कारण संसार झन् नजिकिएको बताए । यस्तो अवस्थामा विश्वसँग जोडिँदै गर्दा आफ्ना मौलिकता र सांस्कृतिक पहिचानको संरक्षण गर्नु थप चुनौतीपूर्ण र महत्वपूर्ण भएको उनको भनाइ थियो ।

उनले भने, ‘आजको पुस्ता प्रविधिसँग अत्यन्त नजिक छ । सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता र विश्वव्यापी सञ्चारले संसारलाई अत्यन्त सानो बनाएको छ । यस्तो अवस्थामा हाम्रो चुनौती अझै ठूलो छ । विश्वसँग जोड्दिै गर्दा आफ्नो मौलिकता जोगाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु