एडिलेड अष्ट्रेलिया — नेपाली संगीतका चर्चित गायक दीप श्रेष्ठ र रामकृष्ण ढकालको प्रस्तुति रहेको ‘स्वर्णिम सांगीतिक साँझ’ शनिबार एडिलेडमा सम्पन्न भएको छ। सारङ्गी इभेन्ट्सको आयोजनामा भएको कार्यक्रममा उल्लेख्य संख्यामा नेपाली समुदायको सहभागिता रहेको थियो।
कार्यक्रम सुरु हुनुअघि नै हल भरिएको थियो। सुरुदेखि अन्त्यसम्म दर्शकले अनुशासित वातावरणमा कलाकारहरूको प्रस्तुति अवलोकन गरेका थिए। चर्चित गीतहरूमा दर्शकले ताली बजाउँदै साथ दिएका थिए भने धेरैले गीतसँगै गुनगुनाएका थिए।

वरिष्ठ गायक दीप श्रेष्ठले ‘म त दूरदेखि आएँ’, ‘म पत्थरको देवता होइन’, ‘झस्किएको छ मन मेरो’ र ‘बितेका कुराले’ लगायतका आफ्ना कालजयी गीत प्रस्तुत गरेका थिए। उहाँले गाएका गीतका शब्दहरूले दर्शकहरूलाई पुराना सम्झनामा डुबाएको अनुभूति भएको थियो।
त्यसपछि मञ्चमा आएका गायक रामकृष्ण ढकालले लाइभ ब्याण्डसँग आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएका थिए। अन्तिम चरणमा प्रस्तुत गीतहरूमा दर्शक गीत गाउँदै र नाच्दै रमाएका थिए।

कार्यक्रमका अवसरमा नेपाली गीत–संगीतमा लामो समयदेखि पुर्याएको योगदानको कदर गर्दै दीप श्रेष्ठ र रामकृष्ण ढकाललाई विशेष सम्मान गरिएको थियो। एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक थिर गुरुङ र एडिलेड नेपाली समाजका अध्यक्ष श्याम दाहालले दोसल्ला ओढाएर मायाको चिनोसहित दुवै कलाकारलाई सम्मान गरेका थिए।
कार्यक्रमपछि गायक दीप श्रेष्ठले एडिलेडवासी नेपाली समुदायले देखाएको आत्मीयता र सम्मानले आफू भावुक बनेको प्रतिक्रिया दिनुभयो। विदेशमा बसेर पनि नेपाली भाषा, कला र संगीतप्रतिको समुदायको प्रेम देख्दा खुसी लागेको उहाँले बताउनुभयो।

गायक रामकृष्ण ढकालले पनि दर्शकको माया र सम्मानप्रति आभार व्यक्त गर्दै प्रवासमा रहेका नेपालीले आफ्नो भाषा, संस्कृति र संगीतप्रतिको अपनत्व कायम राखेको देख्दा कलाकारका रूपमा थप ऊर्जा मिलेको बताउनुभयो।
आयोजक सारङ्गी इभेन्ट्सका निर्देशक हेम श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्ने दर्शक, स्वयंसेवक, प्रायोजक, सञ्चारकर्मी तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गर्नुभयो। समुदायको विश्वास र उत्साहले आगामी दिनमा अझ गुणस्तरीय कार्यक्रम आयोजना गर्ने प्रेरणा मिलेको उहाँको भनाइ थियो।

कार्यक्रम संयोजक विकास पौडेल उदासले पनि नेपाली कला, संस्कृति र संगीतलाई प्रवासमा जीवन्त राख्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिइने बताउनुभयो।
उल्लेख्य सहभागिता, अनुशासित वातावरण र कलाकारहरूको उच्चस्तरीय प्रस्तुतिका कारण ‘स्वर्णिम सांगीतिक साँझ’ एडिलेडमा यस वर्ष आयोजना भएका स्मरणीय नेपाली सांगीतिक कार्यक्रममध्ये एक बनेको सहभागीहरूले बताएका छन्।



