Thursday, June 25, 2026
Zenith Migration Education
Thursday, June 25, 2026

बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

Zenith Migration Education

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारमा आइतबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा कम्तीमा २६ जना घाइते भएका छन् । 

महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख १३५५ नम्बरको बस एक्कासी ब्रेक फेल भई सडकको बाँया नालीतर्फ पल्टिँदा दुर्घटना भएको हो ।

बिहान ७ः१० बजे साँफेबगर–मार्तडी सडकखण्ड अन्तर्गत रिठाबजारमा उक्त दुर्घटना भएको थियो। बस चालक खप्तड छेडेदह गाउँपालिका–५ दोगडी बस्ने ४३ वर्षीय खडक बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी नरेश शाहीले बताए ।

उनका अनुसार,बस महेन्द्रनगरबाट मार्तडीतर्फ आउँदै गर्दा अचानक ब्रेकफेल भई सडकको बाँया नाली साइडमा पल्टिएको जानकारी दिए । अस्थायी प्रहरी पोस्ट रिठा बजारबाट प्रहरी सहायक निरीक्षक धनबहादुर देउवाको कमाण्डमा सात जनाको टोली खटिएको छ ।

त्यस्तै प्रहरी चौकी बार्जुगाडबाट प्रहरी सहायक निरीक्षक रामबहादुर ऐडीको कमाण्डमा सात जना र जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक गगनसिंह भाटको कमाण्डमा १२ जना गरी ट्राफिक प्रहरीसहितको टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घाइतेहरूको उद्धारका लागि बडिमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराको एम्बुलेन्स परिचालन गरिएको थियो । २३ जना घाइतेलाई जिल्ला अस्पताल बाजुरा ल्याइएको छ । त्यसमध्ये १ जना घाइतेलाई दुर्घटना स्थलबाट उपचारका लागि अछामको बयालपाटा अस्पताल पठाइएको हो । २ जना घाइते आफैं मोटरसाइकलमार्फत अस्पताल गएको प्रहरीले जनाएको छ । 

घाइतेहरूको नामथर, ठेगाना र स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान तथा विवरण संकलनको काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु