नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनताले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारहरूमाथि छेडखानी गरे सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेशद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा आयोजित क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले जनताका अधिकार खोसिए सह्य नहुने चेतावनी दिएका हुन् ।
संयोजक दाहालले वर्तमान सरकार (राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको) ले रचनात्मक काम गरे आफूहरूको सकारात्मक सहयोग रहने बताए । तर संविधानमाथि छेडखानी गर्ने, राष्ट्रिय हितमा आँच पुर्याउने वा जनताको हक अधिकार खोस्ने गतिविधि भएमा चुप लागेर नबस्ने स्पष्ट पारे । विशेष गरी विद्यार्थी र कर्मचारी ट्रेड युनियनको अधिकारमाथि सरकारले प्रश्न उठाउन खोजेको भन्दै उनले सतर्क रहन आग्रह गरे ।
संविधान संशोधनको चर्चाबारे बोल्दै पूर्वप्रधानमन्त्री दाहालले आफूहरू संविधान संशोधनको विरोधी नभएको तर संशोधन महिला, दलित र उत्पीडित वर्गको अधिकार थप्न र संघीयतालाई बलियो बनाउनका लागि हुनुपर्ने बताए । हालै सम्पन्न निर्वाचनलाई ‘असामान्य र असाधारण’ संज्ञा दिँदै उनले निर्वाचन परिणामबारे पार्टीले गम्भीर समीक्षा गरिरहेको बताए ।
पार्टी एकीकरणको प्रक्रियालाई केही दिनभित्रै तल्लो तहसम्म टुङ्ग्याउने जानकारी दिँदै दाहालले ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याए । जनवर्गीय सङ्गठन र विभागहरूको एकीकरणपछि देशभर एउटै बुझाइका साथ वैचारिक र राजनीतिक प्रशिक्षण चलाइने उनको भनाइ छ ।
निर्वाचन परिणामले केही फरक मोड लिएपनि चिन्तित हुनुपर्ने अवस्था नरहेको भन्दै उनले आत्मसमीक्षासहित जनताको बीचमा जान कार्यकर्तालाई निर्देशन दिए । उनले १२ बुँदे समझदारी र शान्ति प्रक्रियाका सहयात्री शक्तिहरूसँग हातेमालो गर्दै अगाडि बढ्ने आवश्यकता औँल्याए ।



