Saturday, May 30, 2026
Zenith Migration Education
Saturday, May 30, 2026

रास्वपा प्रवास विभागको दूतावाससँग संवाद

Zenith Migration Education

सिड्नी — प्रवास नेपाली सम्पर्क विभाग (रास्वपा) अस्ट्रेलियाको पहलमा यहाँस्थित नेपाली दूतावास र प्रवासी समुदायबीच विविध विषयमा संवाद भएको छ। सोमबार आयोजित भेटघाटमा प्रवास विभागका प्रतिनिधिहरूले महामहिम राजदूत चित्रलेखा यादवसँग शिष्टाचार भेट गरी समसामयिक मुद्दामा छलफल गरेका हुन्।

डा. कृष्णकान्त पौडेलको नेतृत्वमा भएको उक्त भेटमा नेपालको वर्तमान राजनीतिक अवस्था, प्रवासी नेपालीहरूको हक–हित, नेपाल–अस्ट्रेलिया द्विपक्षीय सम्बन्ध सुदृढीकरण तथा सरकार र प्रवासी समुदायबीच समन्वय अभिवृद्धिका विषयमा विचार आदान–प्रदान गरिएको थियो।

छलफलका क्रममा अस्ट्रेलियामा रहेका नेपालीहरूले भोगिरहेका व्यवहारिक समस्याहरू—विशेषगरी पासपोर्ट नवीकरणमा हुने ढिलाइ, विद्यार्थीहरूले सामना गरिरहेका चुनौती तथा दूतावासको सेवा प्रवाहलाई छिटो, प्रभावकारी र सेवामुखी बनाउने उपायहरूबारे विस्तृत रूपमा कुरा उठाइएको थियो।

यस्तै, दूतावास भवनको स्तरोन्नति, नेपाल–अस्ट्रेलिया प्रत्यक्ष उडान सञ्चालनको आवश्यकता लगायतका विषय पनि छलफलमा आएका थिए। सहभागीहरूले उठाइएका मुद्दाहरूलाई नेपाल सरकारको परराष्ट्र मन्त्रालय तथा आगामी राजदूतसँग समन्वय गरी कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

कार्यक्रममा डा. पौडेलले प्रवास नेपाली सम्पर्क विभाग अस्ट्रेलियाले दूतावास र नेपाली समुदायबीच सेतुका रूपमा काम गर्दै आवश्यक सहकार्य र सहयोग गर्न सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु