Monday, September 7, 2026
Zenith Migration Education
Monday, September 7, 2026

गस्पेल नेपाली चर्चको तेस्रो वार्षिकोत्सव सम्पन्न

Zenith Migration Education

सिड्नी— गस्पेल नेपाली चर्चले स्थापना भएको तीन वर्ष पूरा गरेको अवसरमा शनिबार विशेष कार्यक्रमका साथ तेस्रो वार्षिकोत्सव मनाएको छ।

ओबर्नस्थित २९ क्विन स्ट्रिटमा रहेको चर्च भवनमा आयोजित कार्यक्रममा प्रार्थना, आराधना, प्रवचन, सुसमाचारमूलक नाटक तथा सामूहिक नृत्य प्रस्तुत गरिएको थियो।

कार्यक्रमको सञ्चालन अगुवा अनु श्रेष्ठले गरेकी थिइन्। उनले चर्च स्थापनादेखि हालसम्मको तीन वर्षे यात्रामा परमेश्वरको अनुग्रह र मण्डलीको विस्तारबारे संक्षिप्त जानकारी दिएकी थिइन्।

वार्षिकोत्सव समारोहमा होसन्ना नेपाली मण्डलीका प्रमुख पाष्टरले मुख्य प्रवचन दिएका थिए। प्रवचनका क्रममा विश्वासमा दृढता, प्रेममा एकता तथा सेवामार्फत समाजप्रति उत्तरदायित्व निर्वाह गर्नुपर्ने विषयमा जोड दिइएको थियो।

आराधनामा मण्डलीका अगुवा सैलेस महर्जन र जोन गिरीले अगुवाइ गरेका थिए। सैलेस महर्जनको निर्देशनमा तयार गरिएको मण्डलीका युवा–युवतीहरूको सुसमाचारमूलक नाटक तथा युवतीहरूको सामूहिक नृत्य कार्यक्रम समारोहको मुख्य आकर्षण बनेको सहभागीहरूले बताएका छन्।

समारोहका अवसरमा मण्डलीका अगुवाहरूले सामूहिक प्रार्थनापछि केक काटेका थिए। समापनमा चर्चका पाष्टर जीवन रायमाझीले सहयोगी, वक्ता तथा सम्पूर्ण मण्डलीप्रति आभार व्यक्त गर्दै आगामी वर्षमा सेवा र सहकार्यलाई अझ विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रमपछि सहभागीहरूका लागि नेपाली परिकारसहित प्रेमभोजको व्यवस्था गरिएको थियो। आयोजनाको व्यवस्थापन मण्डलीका अगुवा सुरक्षा रायमाझी नेतृत्वको टोलीले गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु