आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) लाई लक्षित गर्दै ओमप्रकाश अर्याल नेतृत्वको उच्चस्तरीय सुरक्षा टोली सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा अनुगमन तथा निरीक्षणमा निस्किएको छ। निर्वाचनको तयारी, समग्र शान्ति सुरक्षा अवस्था र मतदान केन्द्रको व्यवस्थापनबारे प्रत्यक्ष जानकारी लिन टोली फिल्डमा खटिएको हो।
टोलीमा गृहमन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उच्च अधिकारी सहभागी छन्।
उच्चस्तरीय प्रतिनिधिमण्डलले आज बाँकेको नेपालगञ्ज हुँदै बाँके, बझाङ, बाजुरा र धनगढी पुगेर निर्वाचन सुरक्षा र मतदान केन्द्रको स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको छ।
गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलका अनुसार टोलीले सम्बन्धित सुरक्षा निकायसँग छलफल गर्दै मतदान केन्द्रको सुरक्षा व्यवस्थाको प्रत्यक्ष अवलोकन गर्नेछ। आवश्यक निर्देशन दिँदै निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउने विषयमा स्पष्ट मार्गदर्शन गरिने जनाइएको छ।
यसअघि शुक्रबार ओमप्रकाश अर्याल, कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले दोलखा, ओखलढुंगा, मोरङ, रौतहट र पर्सा जिल्लामा निर्वाचनको तयारी र शान्ति सुरक्षाबारे छलफल गरेको थियो।
जिल्ला सुरक्षा समिति, प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृत तथा अन्य सरोकारवालासँग अन्तरक्रिया गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा जोड दिइएको थियो।
गृह मन्त्रालयका अनुसार निर्वाचन सुरक्षा रणनीति अन्तर्गत निर्वाचनअघि, निर्वाचन अवधिमा र निर्वाचनपछिको चरणसम्म मतपत्रको सुरक्षा सुनिश्चित गर्न ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत निर्वाचन योजना २०८२’ कार्यान्वयनमा रहेको छ।
सरकारले मुलुकको समग्र शान्ति सुरक्षालाई थप मजबुद बनाउँदै मतदातालाई निर्धक्क भएर मतदान गर्न सक्ने वातावरण सुनिश्चित गरिएको जनाएको छ। निर्वाचन नजिकिँदै जाँदा सुरक्षालगायत आवश्यक सबै बन्दोबस्ती अन्तिम चरणमा पुगेको मन्त्रालयले स्पष्ट पारेको छ।



