काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राजनीतिक दलबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिने भन्दै उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पदबाट राजीनामा दिएका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने निर्णयसहित मन्त्री खरेल बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका हुन् ।
राजीनामापत्रमा मन्त्री खरेलले लेखेका छन्, “वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण र जनअपेक्षाको परिप्रेक्ष्यमा अब दलीय राजनीतिमार्फत सक्रिय एवम् उत्तरदायी भूमिका निर्वाह गर्नु वाञ्छनीय भएको निस्कर्षमा म पुगेको छु । अतः वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदानमा छिर्नुअघि नै मैले पदबाट राजीनामा दिने निर्णय मैले लिएको छु ।”



