Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने

Zenith Migration Education

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसवर्ष धान उत्पादनमा गत वर्षको तुलनामा दुई लाख ५० हजार ३५० मेट्रिकटन कमी हुने जनाएको छ ।

मन्त्रालयले देशभर धान बालीको क्षेत्रफल र उत्पादकत्वमा कमी आएका कारण यसवर्ष ५७ लाख पाँच हजार १२६ मेट्रिकटन धान उत्पादन हुने प्रक्षेपण गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । गत वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिकटन उत्पादन भएको थियो । गत वर्षको तुलनामा धान उत्पादनमा ४.२० प्रतिशतले कमी आएको हो ।

आर्थिक वर्ष २०८१÷८२ मा धान बाली भित्र्याइएको कूल क्षेत्रफल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफल रहेकोमा चालु आवमा ३.८ प्रतिशतले घटेर १३ लाख ७६ हजार ८७२ हेक्टर क्षेत्रफल कायम छ । मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार उत्पादकत्व गत आवमा ४.१९ मेट्रिकटनप्रति हेक्टर रहेको थियो ।

युवा पलायन, बसाइसराइ फलफूल तथा नगदेवालीको क्षेत्रफलमा भएको वृद्धि, तराई एवं सहरी क्षेत्रमा वृद्धि भइरहेको आप्रवासन, जमिनको औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग जस्ता कारणले धानखेतीको क्षेत्रफलमा केही कमी आएको छ ।

मधेश प्रदेशमा विशेष गरी धान लगाउने समयमा परेको खडेरीका कारण धान लगाएको क्षेत्रफलमा कमी आई धानको क्षेत्रफल घटेको हुँदा समग्रमा धान बालीको क्षेत्रफलमा कमी आएको हो । चालु आर्थिक वर्षमा उन्नत बीउविजन र मलखादको पर्यास उपलब्धता हुँदाहुँदै प्रतिकूल मौसमका कारण उत्पादकत्वमा केही कमी आएको सूचना अधिकारी जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु