Sunday, December 7, 2025
Zenith Migration Education
Sunday, December 7, 2025

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

Zenith Migration Education

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता लगभग अन्तिम चरणमा पुगेको संकेत दिएका छन् । मंगलवार भारतका लागि नवनियुक्त राजदूत सर्जियो गोरको शपथ ग्रहण समारोहमा बोल्दै उनले छिट्टै भारतमाथिको ट्यारिफ पनि घटाइने बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले सम्बोधनका क्रममा भने, ‘हामी अहिले भारतसँग नयाँ सम्झौता गर्दैछौँ । अहिले उनीहरू मलाई खासै मन पराउँदैनन् तर फेरि हामीलाई मन पराउनेछन् । हामी न्यायोचित व्यापार सम्झौताकै नजिक छौँ । उनीहरू निकै कुशल वार्ताकार छन, त्यसैले सर्जियो, तपाईंले ध्यान दिनु पर्नेछ । सबैको हित हुने सम्झौता लगभग तय हुँदैछ ।’

शपथ ग्रहण समारोहपछि ओभल अफिसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भारतसँगको व्यापार सम्झौता कति नजिक छ भन्ने प्रश्नमा प्रतिक्रिया दिएका थिए । भारतमाथिको ट्यारिफ घटाउने विषयमा उनले भने, ‘रुसको तेलका कारण भारतमाथि उच्च ट्यारिफ राखिएको थियो, तर अहिले रूससँगको तेल कारोबार निकै घटेको छ । त्यसैले उचित समयमा हामी ट्यारिफ तल ल्याउनेछौँ।’

यसअघि, नोभेम्बर ५ मा भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले भारत–अमेरिका व्यापार सम्झौताका छलफल सकारात्मक रूपमा अघि बढिरहेको बताएका थिए । तर, धेरै संवेदनशील र गम्भीर विषयहरू रहेकाले समय लाग्ने उनको भनाइ थियो ।

दुबै देशबीच २०२५ को अन्त्यसम्म पहिलो चरणको द्विपक्षीय व्यापार सम्झौता सम्पन्न गर्ने उद्देश्य राखिएको छ । हालसम्म पाँच चरणको वार्ता सम्पन्न भइसकेको छ भने अक्टोबर २३ मा दुबै देशका वार्ताकारबीच भर्चुअल छलफल भएको थियो ।

यो व्यापार सम्झौताले दुई देशबीचको व्यापार कारोबार १९१ अर्ब अमेरिकी डलरबाट २०३० सम्म ५०० अर्ब डलर पु¥याउने लक्ष्य लिएको छ ।

मन्त्री गोयल यसअघि सेप्टेम्बरमा अमेरिकामा उच्चस्तरीय वार्तामा सहभागी भएका थिए । त्यस्तै, अमेरिकी सहायक व्यापार प्रतिनिधि ब्रेन्डन लिञ्चको नेतृत्वमा अमेरिका टोलीले पनि सेप्टेम्बरमै नयाँदिल्लीमा भारतीय वाणिज्य विभागसँग ‘सकारात्मक र दूरदर्शी’ छलफल गरेको र शीघ्र परिणाम निकाल्न प्रयास तीव्र बनाउने निर्णय गरेको थियो । दुवै देशबीच विश्व व्यापार विस्तार तथा आर्थिक साझेदारी सुदृढीकरणका लागि यो सम्झौता महत्वपूर्ण मानिएको छ । एएनआई

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु