गृह एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेन जी आन्दोलनका क्रममा आगजनी भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गरेका छन् ।
गृहमन्त्री अर्यालले मंगलवार उक्त कार्यालयको अनुगमन गरेका हुन् ।
कार्यालयको अनुगमन गर्दै उनले देशलाई नष्ट गर्ने काम कसैले गर्न नहुने बताए । सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि क्षति गर्नु अपराध भएको उनको भनाई छ । उनले हाल भएको क्षतिलाई व्यहोर्दै अगाडी बढ्ने समेत उल्लेख गरे । उनले तत्काललाई भौतिक पुनः निर्माण भन्दा पनि आचरण र पद्धतिको पुनः निर्माण गर्ने बताए । उनले जतिसुकै कठिन भएपनि व्यहोर्नुपर्ने उल्लेख गर्दै त्यहीबाट उठ्ने बताए ।
उनले भने ‘हामी नेपाली हौँ । यो हाम्रो मातृभूमि हो । जतिसुकै कठिन भएपनि हामीले व्यहोर्नैपर्छ । त्यहीबाटै उठ्ने हो । त्यसकारणले अब केही कुरामा धैर्यता राख्नुपनि पर्ला । यो सबैकुरा सोचेर खास गरेर हामी सबैको उद्देश्य एउटै छ, भावना एउटै छ । अव यसरी चाहिँ देशलाई नष्ट पार्ने काम चाहिँ कसैले गर्नुहुँदैन । जसले गरिरहनुभएको छ, यो चाहिँ बेठिक गर्नुभएको छ । यसमा त कुनै दुईमत छैन नि, यो संरचना ध्वस्त गरेको कुरा जसरी नि बेठिक भयो नि त । सार्वजनिक सम्पत्ति, निजी सम्पत्ति यो बेठिक भएको छ नि । त्यसकारणले हामीले यो बेठिक भइरहेकोलाई बेठिक नै मान्छौँ र जे अहिले छ त्यो व्यहोर्छौँ अहिले हामी र जे छ त्यहाँबाट जर्गेना गर्दै अगाडी बढ्नेछौँ । फेरि तुरुन्तै गर्ने भनेर हात फैलाउँदै जाँदाखेरि पनि कहिलेकाहीँ हाम्रो राष्ट्रिय अस्मितामा केही कमी भयो कि भन्ने पनि भाष्यहरू छन् । अब यो चाहिँ पुनः निर्माण त भौतिक पुनः निर्माणको मात्रै कुरा नभएर अरू हाम्रो आचरण पद्धतिको पनि पुर्ननिर्माण हुनसक्छ अहिले ।’
उनले क्षतिग्रस्त भएको कार्यालयको मूल्याङ्कनको लागि कार्यदल बनाउने जानकारी दिए । सोही कार्यदलको प्रतिवेदनको आधारमा बजेट छुट्याएर पुनः निर्माण गर्ने उनको भनाई छ । उनले केही भवनलाई मर्मत मात्रै गरे पुग्ने देखिएको र केहीको भत्काएर पुनः निर्माण गर्नुपर्ने देखिएको बताए । उनले क्षतिग्रस्त सबै संरचनाहरूको राष्ट्रिय योजना आयोग, विपद् व्यवस्थापन प्राधिकरण र अर्थ मन्त्रालयसँग छलफल गरेर पुनः निर्माण गर्ने जानकारी दिए ।



